पहिलादेखि नै शाहरूख खानको विशेष फ्यान म । हरेक शनिबार कान्तिपुर टीभीमा 'टु पीएम सो' भनेर हिन्दी फिल्महरू देखाइन्थ्यो । नुहाइ-धुवाइ सकाएर खाजा खाँदै हामी हेर्न बस्थ्यौँ ।
शाहरूखले आफ्ना हिरोइनहरूसँग आँखा जुधाउँदै 'कुछ कुछ होता है, अञ्जली तुम नही सम्जोगी' भन्दै गर्दा यता टीभीअगाडि भुईंमा बसेर एक्लै मस्केको याद अझै ताजै छ । काल्पनिक दुनियाँमा नै सही, एउटा राजकुमार त मेरो पनि थियो- बस्नलाई कुर्सि तानिदिने, ओर्लिन लाग्दा गाडीको ढोका खोलिदिने, हावाले उडाएका मेरा कपाल सुस्तरी कानतिर सिउरिँदै मलाई मायाभरि नजरले नियाल्ने । मेरो शाहरूख ।
सपना ठूला कसका नहोलान् र ? तर व्यवहारिक रूपमा म प्राय सबै कुरामा मध्यम रहेँ- पढाइदेखि मेहनत गर्ने र जागिर खाने कुरासम्म । अझ रूप-रङको मामिलामा त मलाई आफूमा सधैं गुनासो नै रहन्थ्यो । मम्मीलाई अक्सर म गुनासो गर्थेँ, 'म ठूलो दार की भएँ, जुँगा आउन लागे (शायद बाहुनी भएकाले), मेरै गालामा डिम्पल किन परेनन्, चिटिक्क परेको हसिलो अनुहार साथीहरूको हुँदा म चैं किन यति नराम्री ? मलाई अलिक राम्रो बनाएर किन नपाएको ?'
मम्मीलाई अझै याद होला, किशोरकालमा यस्तै-यस्तै प्रश्न गरेर उहाँलाई खुब सताउँथें ।
आमा न पर्नुभो, मलाई मुसार्दै 'आफ्नी छोरीजस्तो राम्री कोही देखेको छैन भो' भनेर कुरा मोडिदिनुहुन्थ्यो। आफूलाई अहिले सम्झिँदा हाँसो लाग्छ, त्यो बेलाको मासुमियत ।
मध्यम वर्गीय परिवारमा जन्म र आफ्नी मम्मी पनि शृङ्गारकाे मामिलामा सरल हुँदा हाई-स्कुल पास गर्ने बेलासम्म पनि गाजल लगाउन पनि आँट गरिनँ वा भनौंँ जानिनँ । बाँकी त 'मेकअप प्रोडक्स' कता, कतिबेला लगाउँछन्, थाहा हुने कुरै भएन ।
सानैबाट ठूलो उमेरकी जस्तो देखिन्थेँ म । स्कुलतिर पनि आफ्ना साथी साना दारका, राम्रा । आफू सधैं ठूली देखिने ।
किशोरवयले छोएको बेला, आफ्ना ग्रुपका साथीहरूलाई प्रेम प्रस्ताव आइरहँदा भित्रभित्र मलाई उकुस-मुकुस हुन्थ्यो । आफू सुन्दर नभएको बेसी महसुस हुन्थ्यो। साथीहरू झन् फुर्किँदै आफ्ना 'लभ स्टोरी' सुनाउँथे।
उमेरको दोश भनौं या मेरो आत्माविश्वासको कमी, झन् दुखी हुन्थेँ । भित्रभित्र सोच्थेँ 'म राम्री हुदी हुँ त मेरापछाडि पनि कोही माया गर्ने हुन्थ्यो नि । अनि फेरि आउँथ्यो शनिबार । सँगै मेरो शाहरूख पनि, नयाँ आन्दाजमा आफ्नी हिरोइनलाई मायाको वर्षात् गराउँदै । दिलमा फेरि छुट्टै आशा जगाएर कि कोही आउँछ, पक्कै मेरो लागि पनि । मेरो सपनाको राजकुमार । मेरो शाहरूख !
दिन बित्दै गए । शायद मेरो राजकुमारको आगमन भएकै थिएन । त्यसैले कति 'इन्फ्ल्याचुएसन'देखि कतै कतै 'सिरियस' नै हो कि भनेजस्ता सम्बन्धहरूमा परियो । शायद एउटा बेला थियो त्यो पनि ।
करिब ११ वर्षअघि एउटा म्युचुअल फ्रेन्डबाट ट्विटरमा मेरो भेट सासासँग भयो । ट्विटरबाट फेसबुकसम्म पनि पुगियो । त्यो बेला फेसबुक ट्रेन्डमा थियो । कमेन्ट कसको धेरै आउने, लाइक्स कस्को धेरै आउने !
सचिनको सेन्चुरीभन्दा फेमस त हाम्रा प्रोफाइल पिकचर्समा लाइक्स १०० नाघ्दा हुन्थ्यो । जसकाे महसुस साथीभाइले गराइदिन्थे । त्यसमाथि केटाको कुनै कमेन्ट आउनु पर्थ्यो, रिप्लाईमाथि रिप्लाई गरेर भोलिपल्ट कलेज गइनसक्नु हुन्थ्यो ।
त्यस्तै मेमोरी छ सासासँग पनि । बुकसेल्फअगाडि उभिएर खिचेको फोटोमा, सासाको कमेन्ट आइदिँदा भोलिपल्ट कलेजमा मलाई निक्कै जिस्काइएको थियो । म्युचुअल फ्रेन्डबाट भेट भएको हुँदा, उसलाई र मलाई जिस्काउने जमात लगभग एउटै थियाे । फेसबुकबाट मेसेन्जरसम्म पुग्न पनि निक्कै आँट चहिन्थ्यो त्यो बेला ।
दिन बित्दै जाँदा सासाको मेसेज टुप्लुक्क मेसेन्जरमा आयो । त्यस दिनदेखि कुराकानी सुरु गरेको पनि आज ११ वर्ष भएछ ।
सुविन भट्टराईको 'साया' र 'समर लभ' पुस्तकको क्रेज बेग्लै थियो विद्यार्थीमाझ । शाहरूखकी फ्यान म । कोही आउँछ पक्कै, घुडा टेकेर मलाई हातमा हात समातेर प्रेम प्रस्ताव गर्न । अनि म मेरा हावाले उडाउँदै गरेका कपाल मिलाउँदै, अलि अलि लजाउँदै, हल्का मस्किँदै, फिल्म्सका हिरोइनझैं ‘एस’ भनौंला पूरा फिल्मी अन्दाजमा भन्ने ठूलो रहर थियो । तर हाम्रो सासा पर्यो सोझो वा भनौं लजालु ।
परेन त मलाई फसाद !
न कहिल्यै उसले मलाई प्रोपोज गर्यो, न कहिल्यै मैले । बेजुवान, बेहिसाब अनि बेहद मायामा पर्याैँ हामी। ऊ पढाइको सिलसिलामा भारत अनि म नेपालमै भएको हुँदा हाम्रा मीठा गफगाफ प्राय मेसेन्जरमै हुन्थे । त्यतिबेला सुविन सरको समर लभ बुकका डाइलगहरू खुब प्रयाेग गरिन्थ्यो।
अझ उहाँको लेखाइ शैलीमा आफ्ना भावनाहरू मिसाएर कुरा हुँदा त रौनक नै अर्को । गूड नाइट भनेर छुट्टिनै लाग्दा, उसले 'मलाई नजाऊ न भनेमा जवाफमा म, 'निन्द्रा लाग्यो' भन्थेँ । फेरि लय मिलाएर उसले 'मलाई अझै कुरा गर्नै पुगेकाे छैन' भनेमा म पनि के कम, मसक्क मस्किएर, 'सपनीमा भेटौँला" भनी दिन्थेँ ।
क्या दिन थिए ती पनि, यस्तैयस्तै कुरामा मध्यरात भएको पत्तै हुन्थेन । प्रस्ट थियो, माया झाँगिएकाे ।
दुवैले महसुस गर्थ्याैँ । तर अहँ प्रोपोज कसैले कहिल्यै गरिएन । शायद डेस्टिनी नै भनम् अब ।
११ वर्षअगाडि सासाले मेरो हात त्यस्तो बेला थाम्यो, जति बेला म कुवाको भ्यागुतासरह थिएँ ।
स्वभावका हिसाबले सरल र ज्ञानी भए पनि जिन्दगी एउटै रेसमा दाैडिरहेको थियो । घर कलेज अफिस अनि घर ।
एक्स्पोजर थिएन धेरै त्यो बेला । रिक्रिएसनल र टेकनिकल हिसाबले त झनै थिएन ।
शायद जीवनमा अरु नै केही विशेष प्राथमिकताहरू हुँदा हुन् । मम्मी ड्याडीका दु:ख सानैबाट बुझेकी थिएँ मैले ।
मम्मीको स्वास्थ्यका हिसाबले आफू बुझ्ने हुँदादेखि नै पीडामा देखेकी हुँदा म ममीलाई घरको काममा निकै सघाउँथे । वरपर नातागोतामा लक्ष्मीकी छोरी साह्रै स्वभावकी छे, भलाद्मी छे अनि पढेलेखेकी पनि भनेर बेला मौकामा सुन्न पाइन्थ्यो पनि ।
त्यस हिसाबले पनि बिहेका प्रस्ताव निक्कै आउँथे । तर मान्दिनथेँ म । मास्टर्स नसकी त गर्दिनँ बिहे भन्ने थियो ।
अझै याद छ मलाई, एकजना नजिकको आफन्तले कर्नेलको सम्बन्ध लिएर आउँदा ममीड्याडीले जमर्को कसिसक्नु भएको थियो । मैले केही सिप नलागेर, 'बेहुली बनेर निस्किनँ त निस्किउँला म तर फेरि माइती सम्झेर फर्की आउँदिनँ नि ड्याडी, मास्टर्स नसकी बिहे गर्दिने हो भने' भनेर भन्दिएँ । अनि के थियो र, कुरो टुङ्गियो ।
मेरो मन्जुरीबेगर बिहे गरिदिने बुवाआमा पनि पर्नु भएन । राम्रा सम्बन्ध आउँदा छोरीको लागि बाउआमा लोभिनु भने स्वभाविक नै पनि हो । मेरो हुर्काइमा ड्याडी-ममीले कुनै कसर बाँकी राख्नु भएन ।
उहाँहरूको साम्राज्यमा म रानी थिएँ, बेसक । कुनै गुनासो छैन उहाँहरूप्रति । आफूले सक्दो सुख र सयलमा हुर्काउनु भयो मलाई । तर बाहिरी संसारको भागदौडमा सधैं पछाडि परेको महसुस हुन्थ्यो। सुन्दरताले कसलाई आकर्षित नगर्ला र ? आफ्नो खुबी हुँदाहुँदै पनि यदाकता स्कुलको क्याप्टेनसिपदेखि जागिरमा प्रमोसनसम्म अरुलाई नै गएको पीडा अझै याद आउँछ ।
आत्मविश्वास कम भएर आउँथ्याे । झन् गाडीमा सहचालक भाइले आन्टी भनेर सम्बोधन गर्दा त लाग्थ्यो, 'लु बर्बाद, बैंसमा स्याल पनि घोर्ले हुन्छ भन्थे मेरोचाहिँ के भा'को ! कति हतारमा नाकमुख तासेर पठाइदिएछन् भगवान्ले ।'
त्यस्तो समयमा सासा चिसो मौसममा एक कप न्यानो कफीझैं बनेर आयो। सपनाको भ्रम चिर्दै विपनामा बिउ झाउने अलार्म बनेर आयो । अनि बाटो बिराउँदा डोहोराउने बाबाका औंला बनेर आयो । तर अहँ गएन कहिल्यै ।
कफीको न्यानोपन गएझैं, एकैछिन बजेर बन्द हुने अलार्मझैं अनि बुढ्याैलीले चाउरिएर कमजाेर बनेका बाबाका आउँलाझैं । साँच्चै भन्दा एउटा हौसला बनेर आयो ।
जसरी मलाई मेरो बुवाआमाले संसार टेकाउनु भयो, त्यसैगरी मलाई सासाले संसार चिनायो । लिफ्ट चढ्न, होटेलका कार्डबाट ढोका खाेल्न, विमानभित्रकाे वासरूम प्रयाेग गर्न बिना कुनै जजमेन्ट, बिना कुनै इन्सल्ट, एउटा बच्चालाई जसरी सिकायो ।
लाग्न सक्ला सबैलाई, यी त सामान्य सिकाइ हुन् ।
सबैलाई पहिलो चोटी अप्ठेराे नै हुन्छ। तर यी पहिलो चोटीवाला सिकाइहरू मेरो जीवनमा निक्कै ढिला आयो, जहाँ सिक्न पनि हिच्किचाहट हुन्थ्यो होला पार्टनर एरोगेन्ट पर्दिएको भए । त्यसैले त भन्छु, म सासालाई आमासरह माया गर्छु । संसार टेकाउने मेरी आमा अनि संसार चिनाउने मेरो सासा ।
अहिले डिभाेर्स अक्सर चर्चामा रहेको विषय छ भन्दा गलत लाग्न सक्ला तर फेसनझैँ भएको छ । कतै महिला त कतै पुरुष पीडित ! अहिलेको भागदाैड र देखासिखी, त कतै आफ्ना अधिकारबारे अनविग्य रहँदा त कतै आफ्ना अधिकारकाे दुरुप्रयोग गर्दा । कतै आफ्नै अहमताले त कतै हराएका एक अर्काप्रति गरिने सम्मानले, डिभाेर्स धेरै भएको देखिन्छ ।
यी बितेका ११ वर्षमा हाम्रा पनि झगडा नभएकाे कहाँ हाे र ! चन्द्रमाको दागसरह एक अर्कालाई माफी र मायाभावले अँगाल्दै यहाँसम्म आयौँ हामी । आजका दिनसम्म आउँदा, तिम्रो साथ केकति दिन सकेँ, त्यो नितान्त तिम्राे अनुभव हो ।
तर, तिम्रो आगमनले मेरो जिन्दगी यसराज फिल्म्सका हिरोइन भन्दा कम भने रहेन । जीवनको यो पढाबमा आइपुग्दा लाग्दैछ, फिल्महरूमाझैं कुर्सि तानेर र ढोका खोल्दिएर मात्रै कहाँ जीवन चल्दो रहेछ त ।
एउटा कुसल/सफा मन भएको साथीको साथ हुँदा भाग्यले बन्द गरिदिएका ढोकाहरू पनि आफैँ खुल्दै जाने रहेछन् । हाम्रो पहिलो मायाको चिनो, छोरा हृदयको जन्मपछि करिब २ महिना म थलिँदा तिमीले थामेका माया र सेवाका हातहरू साबित औषधि भए । तिम्रो यो मायाप्रति सधैं आभारी रहनेछु ।
तिमी 'तिमी'जस्तो हुन्थेनौँ भने मेरो खुसी पनि सम्भव थिएन । तिमीलाई यति सरल र ग्राउन्डेड जीवनबोध गराइदिनु भएकोमा बाबा मामुप्रति पनि सधैं सम्मानको झुकाव छ मेरो । तिमी यस्तै ठेहराबका साथ मेरोसामु उभिरहनु, म मायाका डोरी बाटी रहुँला ।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ १५:५०