राजनीतिक रूपमा विपरीत ध्रुवमा रहे पनि प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच निकट सम्बन्ध छ । दुवै नेता झापाबाट निर्वाचित सांसद हुन् । २०७४ र २०७९ का दुई आमचुनावमा ओली र लिङ्देनले एकअर्कालाई सघाएर चुनाव जिते । त्यसैले पनि यी दुई नेताबीच सार्वजनिक मञ्चमा एकअर्कालाई आलोचना गरेको खासै सुनिँदैनथ्यो ।
तर, संसदको पाँचौँ अधिवेशनको पहिलो दिन राप्रपा अध्यक्ष लिङ्देनले गरेको चर्को आलोचनाले भने ओलीसँग उनको सम्बन्ध चिसिएको प्रस्टै सङ्केत गरेको छ । संसदको हिउँदे अधिवेशनको पहिलो दिन लिङ्देनले प्रधानमन्त्री ओलीका वरिपरिका मानिसहरूले भ्रष्टाचार गरिरहेका गम्भीर आरोप लगाए । प्रधानमन्त्रीले गर्ने नियुक्तिमा प्रधानमन्त्रीका वरिपरिका मानिसहरूले करोड–करोडको अफर गरिरहेको उनको दाबी थियो ।
लिङ्देनको ओलीलक्षित यतिको चर्को अभिव्यक्ति यसअघि सुनिएको थिएन । उनले भनेका थिए, ‘अहिले पनि तपाईंका वरिपरिका मानिसहरूले सरकारले नियुक्त गर्ने विभिन्न पदहरूमा करोडकरोडका अफर गरिराखेका छन् । भ्रष्टाचार चरम रूपमा छ ।’ गत वर्ष गण्डकी प्रदेशमा लिङ्देन नेतृत्वको राप्रपाको समर्थन नपाउँदा एमालेका तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढल्यो ।
गण्डकीमा दुईसिटे राप्रपाको समर्थनका लागि लिङ्देनलाई ओलीले फोन गरेरै आग्रह गरेका थिए । तर, राप्रपाको समर्थन नपाएर सरकार ढलेपछि ओली लिङ्देनसँग रुष्ट भएको बताइन्छ । अर्कोतिर, गत वर्ष नै भएको राष्ट्रियसभा निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका थिए । कोशी प्रदेशमा एमालेका उम्मेदवारले चुनाव जित्दा राप्रपा उम्मेदवार हारेपछि राप्रपाले एमालेबाट धोका पाएको प्रतिक्रिया दिएको थियो ।
ओली–लिङ्देन सम्बन्ध बिग्रिन सो घटनाले पनि काम गरेको राप्रपाका नेताहरू बताउँछन् । त्यसबेला एमाले–राप्रपा गठबन्धनबाट एमाले उम्मेदवार रमा कोइराला निर्वाचित हुँदा राप्रपा उम्मेदवार उद्धव पौडेल पराजित भएका थिए । चुनावी परिणामपछि लिङ्देनले ओलीसँग असन्तुष्टि पनि व्यक्त गरेका थिए ।
उसो त २०७८ मा नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन समारोहका बेला काठमाडौंको भृकुटीमण्डपमा पनि ओली र लिङ्देनबीच घोचपेच चलेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र ओलीकै अगाडि लिङ्देनले नेताहरूलाई जनताले चोर भनिरहेको टिप्पणी गरेका थिए ।
‘हाम्रो गाउँघरतिर पार्टीका कार्यकर्ताहरूले नेता बोलाउँदा कुनै ठाउँमा, चौतारोमा वा सामुदायिक भवनमा नेता बोलाएर राख्छन् र छरछिमेकीहरूलाई आमन्त्रण गर्न जान्छन् । आउनु न एकछिन फलाना चौतारोमा नेता आउँदै हुनुहुन्छ भन्दा मान्छेले आजकाल मेरो नाम भनौँ कि अरु नेताको नाम भनौँ, नभनौँ, कुन नेता आएछन् भनेर नेताको नाम सम्झिँदैनन् । कुनचाहिँ चोर आएछन् त्यहाँ भन्छन्,’ लिङ्देनले भनेका थिए ।
त्यतिबेला उनी भर्खर अध्यक्षमा निर्वाचित भएका थिए । नेताप्रति गलत भाष्य बनाउन खोजिएको भन्दै असन्तुष्ट ओलीले सोही सभामा लिङ्देनप्रति लक्षित गर्दै राजनीतिक रूपमा अपरिपक्व र आलाकाँचा नेता मात्र भनेनन्, भर्खर जन्मिएर राम्ररी हिँड्न नजानेको पाडोको संज्ञा दिएका थिए । ‘भरखरभरखर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई । त्यस रापतापमा अलिकति भरखरभरखरको बाछो अलिक हिँड्न जान्दैन । अलिक बढी कुद्छ क्या,’ ओलीले लिङ्देनप्रति व्यङ्ग्य गरेका थिए ।
त्यो घोचपेचले उनीहरूको परम्परागत सहकार्यमा भने असर परेन । २०७९ को आमचुनावमा कांग्रेस, माओवादी केन्द्रसहित पाँचदलीय गठबन्धनविरुद्ध झापामा एमाले र राप्रपाले तालमेल गर्दै ओली र लिङ्देन दुवै निर्वाचित भए ।यतिबेला भने ओली–लिङ्देन सम्बन्ध खलबलिएको छ । राप्रपाभित्र पनि लिङ्देनको ओलीसँगको सम्बन्धलाई लिएर आलोचना हुँदै आएको थियो ।
ओलीसँग मिलेर चुनाव लडेको, ओलीकै दबाबमा गणतन्त्र सुदृढीकरणको प्रतिबद्धतासहित लिङदेन सरकारमा गएको भन्दै संस्थापनइतर पक्ष असन्तुष्ट छ । यस्तोमा पार्टीमा ओलीविरोधी माहौल रहेपछि लिङ्देनले संसद बैठकबाटै त्यसलाई चिर्न खोजेको रूपमा पनि १८ माघको सम्बोधनलाई लिइएको छ । राप्रपामा सरकारमा जाने वा बाहिरै बसेर राजसंस्था एवं हिन्दु राष्ट्र पुनःस्थापनाको निर्णायक आन्दोलन गर्ने दुई धार छ ।
तत्काल न हिन्दु राष्ट्र पुनःस्थापना हुन्छ, न त राजसंस्था नै फर्किने हो भन्नेमा अध्यक्ष लिङ्देन र उनीनिकट नेताहरू प्रस्ट छन् । तर, संस्थापनइतर नेताहरू अध्यक्ष लिङ्देनको ढुलमुले चालाले आन्दोलन तुहिएको भन्दै आलोचना गरिरहेका छन् । यस्तोमा ओलीको विपक्षमा उभिएर लिङ्देनले अन्तरपार्टी संघर्ष र आलोचनालाई निस्तेज पार्ने रणनीति लिएको रूपमा पनि हेरिएको छ ।
हालै सम्पन्न राप्रपा केन्द्रीय समिति बैठकपछि आयोजित पत्रकार सम्मेलनमा लिङ्देनले झापाका सबै निर्वाचन क्षेत्रमा पनि गठबन्धन नगरी चुनाव जित्ने दाबी गरे । जबकि, लगातार दोस्रोपटकको उनको जितमा एमालेको समर्थन थियो ।
उनको यो अभिव्यक्तिले पनि एमाले अध्यक्ष ओलीलाई रुष्ट पारेको छ । त्यसैको प्रतिक्रिया दिन ओलीले पार्टी सचिव छविलाल विश्वकर्मालाई लिङ्देनको चुनाव क्षेत्र झापा–३ मा पर्ने बाह्रदसी गाउँपालिकामा पठाए । सचिव विश्वकर्माले २०८४ को आमचुनावमा झापा–३ मा एमालेकै उम्मेदवार चुनाव लड्ने भएकाले त्यहीअनुसार तयारी गर्न निर्देशन दिएर फर्किएका छन् ।
यसअघिका दुई निर्वाचनमा अरुलाई जिताउँदै आएको तर अब आफैँ जित्ने गरी राम्रो तयारी गर्न एमाले सचिव विश्वकर्माले कार्यकर्तालाई निर्देशन दिएका छन् । सचिव विश्वकर्माको निर्देशनपछि एमाले नेता कार्यकर्ता खुसी भएका छन् । प्रतिनिधिसभा र स्थानीय चुनावको परिणामका आधारमा हेर्दा झापामा सबैभन्दा बलियो दल एमाले हो । सोही दलबाट झापा–२ बाट निर्वाचित देवराज घिमिरे अहिले सभामुख छन् ।
झापा ४ मा एमालेकै लालप्रसाद साँवा लिम्बू र झापा ५ मा ओलीले चुनाव जितेका हुन् । एमालेबाहेक झापा १ बाट कांग्रेसका विश्वप्रकाश शर्मा र झापा ३ बाट लिङ्देन निर्वाचित भएका हुन् । एमालेपछि कांग्रेस, राप्रपा र माओवादी छन् । तर, लिङ्देनले सांगठनिक मजबुती नहुँदानहुँदै पनि एक्लै लडेर झापाका अन्य क्षेत्रमा पनि चुनाव जित्ने भनेका छन् ।
लिङ्देनको संसद यात्रामा ओलीको काँध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन दोस्रोपटक सांसद छन् । २०७४ र २०७९ मा भएको प्रतिनिधिसभा चुनाव लिङ्देनले झापा–३ बाट जिते । दुवैपटक उनले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन् । पूर्वगृहमन्त्री सिटौला कांग्रेसका प्रभावशाली नेता हुन् । हाल उनी राष्ट्रियसभा सदस्य छन् ।
भनिन्छ, सिटौलाको राजनीतिक जीवनलाई ‘ब्रेक’ लगाउन झापा– ५ बाट पटकपटक निर्वाचित भइरहने एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हात छ । ओली–सिटौलाबीच राजनीतिक रूपमा त्यति राम्रो सम्बन्ध नभएको चर्चा हुने गरेको छ । त्यही भएर ओलीले झापा–३ मा आफ्ना पार्टीका उम्मेदवार नउठाएर एमालेका मतदातालाई लिङ्देनलाई भोट दिन लगाउँदै जिताउने र सिटौलालाई हराउँदै आएका छन् । २०७४ सालमा एमाले र माओवादी सम्मिलित वाम गठबन्धन हुँदा पनि राप्रपाका लिङ्देनलाई गठबन्धनको समर्थन थियो ।
त्यसरी पहिलोपटक लिङ्देनको संसद यात्रामा ओली नेतृत्वको एमाले र प्रचण्ड नेतृत्वको माओवादी आबद्ध वाम गठबन्धनको भूमिका थियो । देशभर वामलहर चलेको बेला पनि राप्रपाबाट एक मात्र उम्मेदवार लिङ्देनले चुनाव जितेका थिए । उनको संसदीय राजनीतिमा प्रवेश त्यहीँबाट सुरु भएको हो । त्यसबेलाको संसदमा उनले राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण र जनजीविकाको सवालमा राखेको विचारले उनको राजनीतिक व्यक्तित्व उँचो भयो ।
त्यही बलमा लिङ्देन २०७८ मा राप्रपा अध्यक्ष निर्वाचित भए । २०७९ मा भएको चुनावमा ओलीकै दल एमालेसँग मिलेर चुनाव लड्दा लिङ्देनसहितका राप्रपा उम्मेदवारहरू निर्वाचित भए । लिङ्देनको प्रतिस्पर्धी कांग्रेसकै सिटौला थिए । सिटौलालाई कांग्रेससँगै माओवादी, नेकपा एसले समर्थन गरेका थिए । तर, एमालेको समर्थन प्राप्त लिङ्देनले चुनाव जिते ।
यसरी राष्ट्रिय राजनीतिबाट सिटौलालाई अझै किनारामा पुर्याउने ओली चाहनाले लिङ्देनको संसदीय यात्रा सम्भव भएको छर्लङ्गै छ । त्यसो त ओलीलाई पनि झापा–५ मा सहजै चुनाव जित्न लिङ्देन नेतृत्वको राप्रपाको भूमिका रहँदै आएको छ । जबकि, ओली नेतृत्वको एमाले राजसंस्था र हिन्दु अधिराज्य चाहँदैन, संघीय लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा छ । तर, लिङ्देन नेतृत्वको राप्रपा भने राजसंस्था र हिन्दु अधिराज्य पुनःस्थापनाको लक्ष्यमा छ ।
ओली–लिङ्देनको चिसिएको सम्बन्ध आउँदो चुनावसम्मै लम्बिएला ? वा अहिलेको आलोचना राप्रपाभित्रै आफूमाथि भएको आक्रमणबाट जोगिने लिङ्देनको उपाय मात्र हो ? एमाले र राप्रपाले भनेझैँ २०८४ को चुनावमा ओली र लिङ्देन एक्लाएक्लै चुनाव लड्लान् ? यो चासोको विषय बनेको छ ।
भिडियो :
प्रकाशित मिति: बुधबार, माघ २३, २०८१ २०:४९