राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार संयुक्त राज्य अमेरिकाका लागि इजरायलले हजारौँ रकेट रोक्न प्रयोग गरेको जस्तै ‘आइरन डोम’ वायु सुरक्षा प्रणालीको योजना सुरु गर्न कार्यकारी आदेश जारी गरेका छन् ।
ट्रम्पले रक्षामन्त्रीलाई ६० दिनभित्र ब्यालिस्टिक, हाइपरसोनिक र उन्नत क्रुज क्षेप्यास्त्रहरूबाट सुरक्षा गर्न डिजाइन गरिएको ‘अर्को–पुस्ताको क्षेप्यास्त्र सुरक्षा कवच (नेक्स्ट–जेनेरेसन मिसाइल डिफेन्स शिल्ड)’ को कार्यान्वयन योजना पेश गर्न आदेश दिएका छन् । यसमा अन्तरिक्ष आधारित अवरोधकहरूको विकास पनि समावेश छ ।
सन् २०२४ को चुनावी अभियानमा ट्रम्पले बारम्बार अमेरिकाका लागि इजरायलको आइरन डोम प्रणालीको संस्करण निर्माण गर्ने वाचा गरेका थिए । तथापि उनले यो प्रणाली छोटो दूरीका खतराहरूका लागि डिजाइन गरिएको तथ्यलाई बेवास्ता गरे ।
'विगत ४० वर्षमा कम हुनुको सट्टा अर्को पुस्ताको रणनीतिक हतियारहरूबाट खतरा अझ तीव्र र जटिल भएको छ', सोमबारको कार्यकारी आदेशमा भनिएको छ । ट्रम्पले यसअघि मायामीमा रिपब्लिकन कांग्रेसको रिट्रिटमा यो प्रणाली संयुक्त राज्य अमेरिकामा निर्माण गरिने बताएका थिए ।
इजरायलले अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धमा गाजाको हमास र लेबनानको हिजबुल्लाले प्रहार गरेका रकेटहरू खसाल्न आफ्नो ‘आइरन डोम’ प्रणाली प्रयोग गरेको छ ।
'उनीहरूले लगभग हरेक रकेटलाई खसाल्छन्', ट्रम्पले मायामी बैठकमा भने, 'त्यसैले मलाई लाग्छ संयुक्त राज्य अमेरिका पनि यसको हकदार छ ।' उनले सोमबार अमेरिकी सेनासँग सम्बन्धित अन्य केही आदेशहरूमा पनि हस्ताक्षर गरेका छन् । यसमा ट्रान्सजेन्डर व्यक्तिहरूलाई सशस्त्र बलमा प्रतिबन्ध लगाउने मार्ग तय गर्ने एउटा आदेश पनि समावेश छ ।
प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१ १६:४५