चार टिम सहभागी रेडबल प्रतियोगिता जय ट्रफी बिहीबार सकिएको छ । वीरगञ्ज र जनकपुरमा भएको प्रतियोगिताका लिग चरणका खेल दुईदिवसीय भए भने फाइनल खेल भने तीनदिवसीय गरियो । र, नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै पहिलो संस्करणको जय ट्रफीको उपाधि जितेको छ । २१ पुसमा सुरु भएको प्रतियोगितमा चार टिम सहभागी थिए । आर्मी, पुलिस, मधेश प्रदेश र बागमती प्रदेशबाट राष्ट्रिय टिमका अनुभवी तथा नयाँ खेलाडीहरूले रेडबल क्रिकेटमा आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर पाए ।
लगातार फ्लप भइरहेका राष्ट्रिय टिमका नियमित ओपनर कुशल भुर्तेलले यो प्रतियोगिताबाट लयमा फर्किने संकेत देखाएका छन् भने केही नयाँ र केही खेलाडीहरूले राष्ट्रिय टिमको ढोका ढकढक्याएका छन् । यहाँ राष्ट्रिय टिमका नियमित खेलाडीको नभई नयाँ र पुनरागमनका लागि बलियो दाबेदारी पेस गरेका खेलाडीहरूबारे चर्चा गर्न खोजिएको छ ।
जय ट्रफीले खोजेका सबैभन्दा प्रतिभावान् खेलाडी मयन यादव देखिएका छन् । त्यसो त उनले यसअघि प्रधानमन्त्री कप र यू– १९ टिमबाट पनि आफूलाई प्रमाणित गरिसकेका थिए र आफ्नो प्रतिभा देखाइसकेका थिए । जय ट्रफीबाट त उनले राष्ट्रिय टिमका लागि बलियो दाबेदारी पेस गरेका छन् । उनी यो प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले ३ खेलका ६ पारीमा एक शतक र एक अर्धशतकसहित २६८ रन बनाएका छन् । यस क्रममा उनले ४४.६६ को औसतमा ३९९ बलको सामना गरी सो रन बनाएका हुन् । उनी यो प्रतियोगितामा शतक बनाउने एक मात्र खेलाडीसमेत हुन् । उनले प्रधानमन्त्री कप एकदिवसीय खेलमा पनि मधेशका तर्फबाट शतक बनाएका थिए ।
यू– १९ मा पनि उनले नेपालका लागि राम्रो प्रदर्शन गरेका थिए । १९ वर्ष पुग्न थालेका मयन दायाँहाते ओपनर ब्याटर हुन् । राष्ट्रिय टिममा ब्याटरको प्रदर्शन खराब रहेको बेला उनको प्रदर्शन नेपाली ब्याटिङ लाइन बलियो बनाउन महत्त्वपूर्ण हुन सक्छ । दुर्भाग्यवश उनी औँलाको चोटका कारण क्यानले आयोजना गर्ने ब्याटिङ क्लिनिकमा पर्न सकेनन् । क्यानले २० युवा ब्याटरलाई प्रमुख प्रशिक्षक मोन्टी देसाईको अगुवाइमा ब्याटिङ क्याम्प चलाउँदै छ ।
जय ट्रफीमा गरेको प्रदर्शनले राष्ट्रिय टिममा पुनरागमनका लागि बलियो दाबेदारी पेस गर्ने अर्का खेलाडी हुन्, शाहब आलम । उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी हुन् । नेपाली टिमबाट टी– २० आई र लिस्ट ए खेल खेलिसकेका शाहबले यो प्रतियोगितामा ४ खेलका ८ पारीमा ३३ विकेट लिएका छन् । आर्मीका लागि खेलेका उनले एकपटक पारीमा ८ र एकपटक पारीमा ७ तथा एकपटक पारीमा ५ विकेट लिएर सनसनी मच्चाएका छन् ।
बायाँहाते अर्थोडक्स बलर शाहबले राष्ट्रिय टिमका नियमित लेगस्पिनर सन्दीप लामिछाने र पछिल्लोपटक टिमबाट लगातार खेलिरहेका अर्का बायाँहाते अफस्पिनर ललित राजवंशीभन्दा निकै राम्रो प्रदर्शन गरेका छन् । शाहबले नेपाली राष्ट्रिय टिमबाट ६ टी– २० आई खेलेका छन् । २०२१ को अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध कीर्तिपुर मैदानमा उनले अन्तर्राष्ट्रिय टी– २० मा डेब्यु गरेका थिए भने अन्तिम खेल २०२२ को अगस्टमा केन्याविरुद्ध खेलेका थिए । उनले २०२४ मा कीर्तिपुर मैदानमै आयरल्यान्डविरुद्ध लिस्ट ए डेब्यु गरेका थिए ।
यस्तै, राष्ट्रिय टिमका लागि दाबेदारी पेस गर्ने अर्का खेलाडी हुन्, अलराउन्डर बसिर अहमद । उनले यो प्रतियोगितामा अलराउन्ड प्रदर्शनबाट सबैको ध्यान खिचेका छन् । उनी मध्यक्रममा टिमको ब्याटिङ सम्हाल्न सक्षम छन् । उनले प्रतियोगितामा ४ खेलका ८ पारीमा २ अर्धशतकसहित १८४ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउनेको सूचीमा छैटौँ स्थानमा छन् ।
उनले बलिङबाट पनि प्रभावशाली प्रदर्शन गरेका छन् । २२ वर्षीय बसिरले ४ खेलका ८ पारीमा एकपटक चार र एकपटक पाँच विकेटसहित ११ विकेट लिएका छन् । उनी सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा छन् । बसिरले हालै सम्पन्न नेपाल प्रिमियर लिगमा पनि उम्दा प्रदर्शन गरेका थिए । त्यसअघि उनले पीएम कपमा पनि उम्दा प्रदर्शन गरेका थिए । उनी राष्ट्रिय ए टिममा समेत परेका थिए । उनी राष्ट्रिय टिमका लागि समक्ष रहेको उनको प्रदर्शनले देखाएको छ ।
यस्तै, जय ट्रफीले आशा देखाएका अन्य खेलाडीहरूमा ब्याटर शुभ कंसाकार र अमित श्रेष्ठ पनि हुन् । कंसाकारले ३ खेलका ६ पारीमा एक अर्धशतकसहित १९७ रन बनाएका छन् । त्यस्तै, अमित श्रेष्ठले चार खेलका ८ पारीमा दुई अर्धशतकसहित २५७ रन बनाएका छन् ।
बलिङतर्फ स्पिनर सागर ढकाल, फास्ट बलर नन्दन यादव, आकाश चन्दलगायतले प्रभावशाली प्रदर्शन गरेका छन् । नन्दनले त ब्याटिङबाट पनि प्रभाव देखाएका छन् ।
प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१ १८:४०