जनतामा रहेको निराशा चिर्न भन्दै गत १७ असारको मध्यरातमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सरकार बनाउने सहमति भयो । सातबुँदे सहमति गरेर दलका नेताहरूले स्थायी सरकार र डेलिभरीको आशा देखाए । तर, सरकारले भनेको काम नगरेको भन्दै सरकारको कार्यशैलीप्रति सत्तारुढ दलभित्रै असन्तुष्टि देखिन थालेको छ ।
आफैँले वकालत गरेको र भनेजस्तै भए पनि कांग्रेस एमालेको सरकार गठनपछिको कार्यप्रगतिमा सबैभन्दा असन्तुष्टि जनाउने नेता हुन् डा. शेखर कोइराला । सरकारको विरोध सरकारमा नै रहेर किन गरेको भन्ने प्रश्नमा उनले भन्ने गरेका छन्, ‘प्रतिपक्षीको भूमिका पनि चाहिन्छ । चेक एन्ड ब्यालेन्स गर्न हामीले नबोले कसले बोल्ने ? सरकारलाई जे गर्न पनि छुट छैन ।’
पुस पहिलो साता सुदूरपश्चिम पुगेका शेखरले सरकार बनेको पाँच महिनासम्म पनि अपेक्षाअनुसार काम गर्न नसकेको बताए । ‘सरकार बनेको पाँच महिनाजति भयो । जनताले अपेक्षा गरेजस्तो काम सरकारले गर्न सकेको छैन । केही भइरहेको छैन भन्ने कुरा प्रधानमन्त्री नै भनिरहनुभएको छ,’ कोइरालाले भने, ‘मन्त्रीमण्डल चेन्ज गर्ने कुरा पनि सुनिन्छ । तर, सरकारलाई असफल हुने छुट भने छैन ।’
शेखरले सरकारलाई सही ट्र्याकमा हिँडाउनका लागि खबरदारी गरेको भन्दै आएका छन् । सरकारको कामलाई सुझाव दिन कार्यदल पनि बनाइएको छ । कार्यदल संयन्त्रमा कांग्रेसका तर्फबाट ४ र नेकपा एमालेका तर्फबाट ४ जना प्रभावशाली नेता सदस्य छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, महामन्त्री गगनकुमार थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा संयन्त्रमा छन् । यस्तै, एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल छन् ।
कार्यदलमा रहेका कांग्रेस महामन्त्री थापाले समेत जनताको आशाअनुसार वर्तमान सरकार चल्न नसकेको बताउन थालेका छन् । गत शुक्रबार काठमाडौंमा कैलाश कोइरालाद्वारा लिखित 'शास्त्र' उपन्यासको विमोचन समारोहपश्चात् सञ्चारकर्मीसँग सरकार गठनको उद्देश्यअनुसार काम हुन नसकेको बताए । ‘सरकार बनिसकेपछि जुन खालको आशा थियो, त्यो आशाअनुरूप जसरी डेलिभरी हुनुपर्ने हो, त्यो हुन सकेको छैन,’ थापाले भने ।
कांग्रेस–एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका थिए । प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम सरकारको प्राथमिकता र कार्यशैलीले मेल नखाएको बताउँछन् । जनतामा देखिएको निराशालाई हल गर्न सरकारले कतैबाट पनि आशाको सञ्चार गर्न नसकेको उनको भनाइ छ ।
‘यो सरकार सफल हुने आधार सातबुँदे हो नि । त्यसमा सरकार गम्भीर हुनै सकेन । खै कता र कहाँ अल्झियो । जनतामा भएको निराशालाई आशामा बदल्न कहीँकतैबाट प्रयास त हुनुपर्यो नि,’ गौतमले शिलापत्रसँग भने । यसबीचमा संविधान संशोधनकोे बाटो पहल्याइसक्नुपर्नेमा सो काम पनि हुन नसकेको उनले बताए । संविधान संशोधनका लागि अरु दललाई विश्वासमा लिनलाई समय लाग्ने भए वार्ता संवादको प्रक्रिया त अघि बढाउनुपर्ने थियो नि । पाँच महिनाको अवधिमा बहस नै चलेन,’ उनले भने ।
संविधान संशोधनको काममा प्रगति हुँदै नहुनु, भ्रष्टाचार नियन्त्रण र सुशासन भने पनि भ्रष्टाचारको सूचकांकमा नेपाल अगाडि रहनु, समाजमा अराजकता थपिनु, अर्थतन्त्रमा पनि शेयर बजारलाई भजाएर समग्र राम्रो छ भन्नु, प्रधानमन्त्रीको निर्देशन मात्र आउनु र परिणाम नदेखिनुले कांग्रेसभित्र असन्तुष्टि छ । सरकार बनाउँदा अघि सारिएको प्रतिबद्धता र गरिएको वाचा कुनै पूरा नभएको भन्दै आफैँ सहभागी सरकारको विषयमा कांग्रेसले प्रश्न उठाउन थालेको हो ।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटमा काम गर्न समस्या हुने बताउँछन् । जनसेवामा सरकारले काम गर्न सक्नुपर्नेमा कम भएको उनी बताउँछन् । ‘सरकारले विकासमा नगरे पनि सेवामा काम गर्नुपर्ने थियो । त्यो पर्याप्त हुन सकेको देखिएन । विपद्का बेला, आर्थिक मन्दीजस्ता समस्या भएको क्षेत्रमा नीतिगत रूपमा काम गर्न सक्ने ठाउँ रहे पनि सरकारले त्यो गरेको देखिएन,’ उनले शिलापत्रसँग भने ।
गृहमन्त्री रमेश लेखक संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न कांग्रेस र एमालेले केही दिनमा बेग्लै कार्यदल बनाउन लागेको बताए । ‘हामी छलफल गरेर विषयहरूको पहिचान गर्छौं । त्यसपछि हामीले चरणबद्ध रूपमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौं । त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । समय लाग्छ, अहिले नै हुने कुरा होइन,’ उनले भने । उनले संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउन गर्न लागेको बताए । कांग्रेस महामन्त्री थापाले भने केही दिनमा संविधान संशोधनका लागि संयन्त्र बन्ने बताएका थिए ।
सरकारले डेलिभरी दिन नसकेमा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने भएकाले सरकारलाई प्रभावकारी बनाउन आफू लागिपरेको कांग्रेस महामन्त्री थापा बताउँछन् । ‘नेपाली कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने कुरा आफैँमा गलत छनोट हो भन्ने सुरुदेखि मेरो धारणा थियो तर बनाइसक्यो । यो सरकार असफल हुने छुट छैन भन्छन् । सफल असफल हुने मानक के हो ?,’ उनले शिलापत्रसँग भने, ‘सरकार चल्छ, चल्ने कुरामा अप्ठ्यारो छैन । योपटक गठबन्धन तलमाथि पनि हुँदैन । आमनागरिकले डेलिभरी खोजिरहेको बेलामा दिन सकिएन भने कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्छ । हामी सबैभन्दा ठूलो पार्टी छौँ । सरकारमा प्रत्यक्ष नभए पनि कसरी परिणामुखी र प्रभावकारी बनाउने भन्नेमा काम गरिरहेको छु ।’
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१ १९:४५