हिजो अर्थात् १६ मंसिरमा भएको उपनिर्वाचन खासमा आवधिक चुनावको मध्य समयमा भएको छ । २०७९ वैशाखमा भएको चुनावको ठीक साढे २ वर्षमा भएको उपनिर्वाचनलाई दलहरूप्रति नागरिकमा रहेको मनोविज्ञान बुझ्ने गतिलो मौकाका रूपमा पनि हेरिएको छ । हुन पनि त्यस्तै भइदियो । यसबीचमा नयाँ राजनीतिक दलको उदय र परम्परागत दलहरूप्रति नागरिक तहमा देखिएको अविश्वास र आक्रोशको मापन गर्ने कडीको रूपमा पनि विश्लेषण भइरहेको थियो ।
त्यसरी हेर्दा अहिलेको उपनिर्वाचनमा निकै रोचक नतिजा देखिएको छ । उपनिर्वाचनको नतिजालाई हेर्दा माओवादी केन्द्रका लागि उत्साह थपिदिएको छ भने कांग्रेसले तुलनात्मक रूपमा गुमाएको छ । अनि, एमाले स्थिरजस्तो देखिएको छ । काठमाडौं महानगरपालिकाको १६ नम्बर वडाको जितले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सान्त्वना दिएको छ । आन्तरिक विवाद र अपेक्षित उम्मेदवारको अभावमा कीर्तिपुर नगरपालिकामा उम्मेदवार दिन नसकेको रास्वपाले काठमाडौंबाहेकका वडाहरूमा दिएको उम्मेदवारीले भने गतिलो सन्देश दिएन । ती वडाहरूमा रास्वपाका उम्मेदवारहरूले जमानतसमेत जोगाउन सकेनन् ।
त्यसैले, काठमाडौंमा भने अझै पनि रास्वपाको सम्भावना हुन सक्ने संकेत दिएको छ । त्यसो हुनुमा काठमाडौं– १५ चाहिँ रास्वपाको केन्द्रीय कार्यालय रहेको क्षेत्र र प्रतिनिधिसभा निर्वाचित भएको वडा हो । त्यसले गर्दा रास्वपाले प्रतिष्ठाको लडाइँको रूपमा हेरेको थियो । अनि, सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा हिरासतमा पुगेका कारणले काठमाडौं– १६ मा जित निकाल्नुपर्ने बाध्यतामा थियो । त्यो जितले दिने सान्त्वनाले रास्वपालाई ठूलो राहत मिल्ने थियो ।
यही सेरोफेरोमा २०८४ मा हुने आमनिर्वाचनको आँखीझ्यालको रूपमा समेत विश्लेषण गरिएको यस उपनिर्वाचनमा माओवादीले पाएको सफलता अर्थपूर्ण छ । यसअघि माओवादीका दुई गाउँपालिका उपाध्यक्ष र सात जना वडाध्यक्षको निधन भएको थियो । यो उपनिर्वाचनमा माओवादीले सात वडाध्यक्ष, एक उपाध्यक्ष र एक गाउँपालिका अध्यक्षमा जित निकालेको छ ।
कतिसम्म भने माओवादीले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा फराकिलो मतले चुनाव जित्यो । त्यहाँ माओवादीकी नरपुरा बुढाले कांग्रेसको रुख चिह्न लिएर चुनाव लडेकी एमालेकी केशकुमारी तुलाचनलाई पराजित गरिन् । बुढाको जितले यहाँ माओवादीको जनमत बलियो छ भन्ने देखाएको छ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा पनि माओवादीले यसपटक जित निकाल्यो । अघिल्लोपटक उपप्रमुख जितेको कांग्रेसलाई माओवादीकी देवका लामिछानेले पराजित गरेर ‘स्तब्ध’ पारिन् ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा पनि माओवादी उम्मेदवार नमोनारायण माझीको सानदार विजयी भयो । पालैपालो एमाले–कांग्रेसले जितेको यहाँ यसपटक माझीको जितपछि देशको पूर्वी क्षेत्रको तराई क्षेत्रमा माओवादी प्रभाव कायम रहेको देखाएको छ ।
मतगणना भइरहेको दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष र हुम्लाको सर्केगाड गाउँपालिकामा पनि माओवादी उम्मेदवारहरूकै अग्रता छ । ती पालिकामा माओवादीले जित निकालेमा उपनिर्वाचन भएको दुई गाउँपालिका अध्यक्षमध्ये एउटा, एक नगरपालिका उपप्रमुखका लागि भएको उपनिर्वाचनमा माओवादीकै जित र चार गाउँपालिका उपाध्यक्षमध्ये माओवादीको तीन ठाउँमा जित हुनेछ । अग्रता कायम रहेको आधारलाई मान्दा कांग्रेस एउटा नगरपालिका प्रमुख, एमाले एउटा गाउँपालिका अध्यक्ष र एक जना उपाध्यक्षमा चित्त बुझाउनुपर्ने अवस्थामा पुग्ने देखिएको छ ।
यसरी मतदान प्रक्रियामार्फत जनताले प्रकट गरेको अभिमतले यसपटक माओवादीका लागि उत्साह थप्ने नतिजा देखिन्छ । उसो त उपनिर्वाचनको प्रचारको क्रममा काठमाडौंको कीर्तिपुरमा पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि आफू नेतृत्वको सरकारले भ्रष्टाचारका काण्डहरूको निर्भीकताका साथ फाइल खोलेको र देशमा सुशासनको नेतृत्व गरेकाले यसपटक सुशासनको पक्षमा जनताको मत आउने दाबी गरेका थिए । नभन्दै यो उपनिर्वाचनमा प्रचण्ड र उनी नेतृत्वको माओवादीलाई हौस्याउनेगरि जनताले मत दिएको पाइएको छ ।
यद्यपि, आधार इलाका भनिएको रुकुम र रोल्पामा माओवादी निकै कमजोर देखिएको छ । माओवादी आधार इलाकामा कांग्रेसले ठाउँठाउँमा चार तारे झण्डा फहराएको छ । क्रमशः माओवादीबाट रुकुम–रोल्पा कांग्रेसको पकडमा जाने सम्भावना बढेको अर्थमा पनि विश्लेषण हुन थालेको छ । जाजरकोटको पनि वडाध्यक्षका लागि भएको चुनावमा कांग्रेसले चुनाव जित्यो ।
जबकि, यी तीन जिल्ला केन्द्रमा लगातार अवसर र शक्तिमा रहेका उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा र शक्ति बस्नेतका गृहजिल्लाका हुन् । केन्द्रमा अवसर ताक्दा जनताले भने उनीहरूलाई छाड्दै कांग्रेसतिर ढल्किएको देखिएको छ । तर, माओवादीले आफ्ना आधार इलाकाको वडा गुमाउँदा अन्यन्त्र कांग्रेस र एमालेले चुनाव जितेको ठाउँमा विजय झण्डा फहरायो ।
समग्रमा यो उपनिर्वाचनमा परीक्षण भएको जनमतले माओवादी ‘बौरिएको’ अर्थमा पनि माओवादी स्वयम्ले टिप्पणी गरेका छन् । माओवादी केन्द्र अध्यक्ष प्रचण्डसँग टेलिफोन संवाद गर्दै ग्रामथानबाट सांसद अमनलाल मोदीले २०६४ दोहोरिएको बताएका छन् । त्यस कारण अहिलेको उपनिर्वाचनले माओवादीमा हौसला बढेको अर्थमा पनि लिन सकिन्छ ।
कांग्रेसले माओवादीको आधार इलाका भत्काउँदै जित निकाल्नु ठूलो सफलता हो । तर, यसअघि जितेका मध्ये दुई गाउँपालिका अध्यक्ष र तीन गाउँपालिका अध्यक्ष गुमाएको छ ।
यता, प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दल एमालेले उपनिर्वाचनमा केही सफलता हात पारेको छ । एमालेले यसअघि आफ्ना छ जना वडाध्यक्षको निधन भएर रिक्त भएको अवस्थामा उपनिर्वाचनमा ५ वडाध्यक्ष, एक गाउँपालिका अध्यक्ष र एक गाउँपालिका अध्यक्षमा चुनाव जितेको छ ।
यस आधारमा एमालेले यो उपनिर्वाचनमा केही हदसम्म सफलता पायो । यता, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाले हिरासत पुगेका रवि लामिछाने नेतृत्वको रास्वपाले काठमाडौं– १६ मा वडाध्यक्ष जित्यो । यस वडामा यसअघि कांग्रेसले जितेको थियो । मतपरिणामलाई विश्लेषण गर्दा जहाँजहाँ कांग्रेस उम्मेदवार हारे, त्यहाँ रास्वपा उम्मेदवारलाई कांग्रेसको भोट गएको देखिन्छ । अर्थात् कांग्रेसको जितमा रास्वपा बाधक बनेको देखिएको छ ।
तर, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले चुनाव भएको ४१ मध्ये कुनै पदमा जित निकाल्न सकेन । राप्रपा शून्य भयो । कतिसम्म भने यसअघि २०७९ सालमा भन्दा यसपटकको उपनिर्वाचनमा राप्रपाको मत घट्यो । लिङ्देनको गृहजिल्ला झापाको कन्काई नगरपालिकामा जम्मा २६ मत मात्रै राप्रपाले पायो । अन्यत्र पनि राप्रपाले निकै कम मत पाएको छ । यसले राप्रपाले जनमत गुमाउँदै गएको देखिएको छ ।
बरु, माधवकुमार नेपाल नेतृत्वको दल नेकपा एसले एक ठाउँ, जसपाले दुई ठाउँ, नेपाल मजदुर किसान पार्टीले एक ठाउँ र स्वतन्त्रले एक ठाउँमा चुनाव जिते । मधेशमा वैकल्पिक शक्तिको रूपमा उदाएको जनमत पार्टी र पश्चिम तराईको अर्को वैकल्पिक शक्ति भनिएको नागरिक उन्मुक्ति पार्टी पनि शून्य भएका छन् । यसले यी दलहरू पनि क्रमशः प्रभावहीन हुँदै गएको देखाएको कतिपयले अर्थ्याएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १७:४२