प्रतिनिधिसभाले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गरेको छ । मंगलबारको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सो बजेटलाई सत्तारुढ दलले खुलेर आलोचना गरे भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको दहीचिउरे नीति देखिएको थियो ।
दहीचिउरे कांग्रेस
मंगलबारको बैठकमा उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा र बहुमतले पारित गर्दा कांग्रेससहित राप्रपा, जसपा नेपाललगायतका साना दल विपक्षमा रहे । १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रधानमन्त्री र मन्त्रीवरपर रहेको थियो ।
प्रतिपक्षी कांग्रेसलाई सत्ता गठबन्धनभित्रको गडबडी कहिले हुन्छ भन्ने प्रतीक्षा छ । बजेटमाथि २३ जेठको छ्लफल कार्यक्रममा भाग लिँदै कांग्रेस महामन्त्री गगन थापाले भनेका थिए, ‘अहिले आएको बजेटमा गठबन्धनको मुख्य दल एमालेका जर्साब, कर्साबहरूले के भन्नुभयो भन्ने मेरो धेरै टिप्पणी छैन । तर, प्रधानसेनापतिले नै यो बजेट हाम्रो होइन, रङ मिल्दैन भनेपछि यसको स्वामित्व कसले लिन्छ ?’
उनले बजेटमाथि नराम्रो टिप्पणी गर्दा ६-८ महिनापछि आफैँले काँध हाल्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।
७ असारको संसदीय दलको बैठकबाट कांग्रेसले बजेटको हरेक प्रक्रियामा सहभागी हुन ह्वीप जारी गर्यो । तर भित्री आशय भने बजेटलाई समर्थन गर्ने थियो । ‘आगामी आर्थिक वर्षको बजेट मतविभाजन गर्दा ध्वनि मतका आधारमा कांग्रेस जाने देखियो । चालु आर्थिक वर्षको बजेट पारित गर्दा उनीहरूले मतविभाजन मागेका थिए । बजेटमा त्यति धेरै चिढ्याएर कांग्रेस जाने पक्षमा देखिएन । चुरो कुरो त्यो भयो,’ बैठकपछि एक सांसदले शिलापत्रसँग भनेका थिए ।
एमाले सत्ताभित्रको प्रतिपक्षी
प्रमुख सत्ताघटक दल एमालेले बाध्यता भएर बजेटको पक्षमा मत जाहेर गरे पनि ऊ प्रतिपक्षी भएर छलफलमा उत्रिएको थियो । १९ जेठको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बजेट ल्याउनुपूर्व सत्तापक्षसँग छलफल नै नगरी बजेट ल्याएको भन्दै असन्तुष्टि मात्र व्यक्त गरेनन्, सांसदहरूलाई बजेटमा रहेका कमी कमजोरीमाथि खुलेर आफ्ना कुरा राख्न निर्देशनसमेत दिएका थिए ।
‘यो बजेट सरकारमा सहभागी राजनीतिक दलसँग सल्लाह, छलफल, परामर्श गरेर ल्याएको भए धेरै राम्रो हुन सक्थ्यो । छलफल नहुँदा यो अर्थमन्त्रीको बजेट हो कि अर्थमन्त्रीको पार्टीको होजस्तो अलि बढ्ता देखिएको छ । रकमको बाँडफाँट पनि त्यस्तै खालको छ । अलि बढी एकातिर ढल्किएजस्तो देखिन्छ, त्यसैले यो बजेटको कमीकमजोरी औँल्याउनै हुन्न भन्ने होइन, कमीकमजोरी औँल्याउनुहोस्,’ उनले भनेका थिए ।
राप्रपाको आक्रोश
अर्को प्रतिपक्षी दल राप्रपा बजेट माथिको आक्रोश र असन्तुष्टि संसदमा नै पोख्न बाध्य भएको थियो । उसका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोस्ट्रममै बजेट पुस्तिका च्यातेका थिए ।
उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुस्तिका हातमा परेदेखि आफू तातेको बताउँदै बजेट पुस्तिका च्यातेनन् मात्र, त्यसले मन्त्रीको मुखमा हान्न मन भएको तर मर्यादाले नदिनेसम्म बताएका थिए ।
´यो मेरो मात्र मनको कुरा होइन, अहिले त्यस्तो केही नाप्ने चीज रहेछ भने यो हलभित्र बसेका जुनसुकै पार्टीको भए पनि चारवटा निर्वाचन क्षेत्रबाहेकका सबै प्रतिनिधिसभा सदस्यको मनको कुरा हो यो । सामान्य लाजघिन पनि नमानेर राज्य संयन्त्रमाथिको मनपरी कति दिन मानिसहरूले सहेर बस्ने हो ? बजेट पुस्तिकामा जिल्लाको नाम राख्दा धेरै देखिन्छ भनेर जिल्लाको नाम नै नराखी पनि बजेट व्यवस्था गरिएको छ,' उनले रोस्ट्रममा भनेका थिए । उनले मन्त्रीको मुख र गोजीबाट निस्कने चिर्कटोबाट बजेट बन्ने गरेको भन्दै आक्रोश पोखेका थिए ।
राप्रपाकै सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको बजेट पुस्तिका सभामुखमार्फत सरकारलाई फिर्ता बुझाएका थिए । शाहीले भौतिक पूर्वाधारमन्त्री धनुषा र झापाका हुन् कि नेपालका भन्दै प्रश्न गरेका थिए । कर्णालीमा बजेट कम दिएर उपेक्षा गरिरहे माओवादी र एमाले कर्णालीमा क्षेत्रीय पार्टी बन्ने चेतावनीसमेत दिएका थिए ।
प्रधानमन्त्रीको लाचारी
बजेटको बहस संसदमा चलिरहँदा प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको तालिका पनि थियो । ६ असारको सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाचार देखिए । आफूले दिएको निर्देशनअनुसार बजेट नआएको उनले रोस्ट्रममा बताए । प्रधानमन्त्री प्रचण्डले आफ्नो निर्देशनलाई मन्त्रीहरूले गम्भीरतापूर्वक नलिएको बताएका थिए ।
प्रधानमन्त्री प्रचण्डले आफूले ३ करोडभन्दा साना योजना बजेटमा नराख्न दिएको निर्देशन नमानेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । ‘माननीय मन्त्रीजीहरूले पनि योजना कार्यान्वयन गर्दा, कार्यक्रम बनाउँदा सरकारले बनाएको, प्रधानमन्त्रीकै निर्देशनलाई पनि जति गम्भीरतापूर्वक लिनुपर्ने हो, तर भन्दा भन्दै पनि साना आयोजना राखिएको छ, भोलि तपाईंहरू पनि मन्त्री, प्रधानमन्त्री हुनुहोला । त्यस कारण यो विषय परिमार्जन गर्न आवश्यक छ,’ उनले भनेका थिए ।
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१ २१:१७