प्रतिनिधिसभाको बैठक सुरु हुँदा नै सत्तापक्ष (रास्वपा) र प्रमुख प्रतिपक्ष (नेपाली कांग्रेस) का सांसदहरू उठे । सभामुख देवराज घिमिरेले प्रतिपक्षी कांग्रेसको तर्फबाट सुशीला थिङलाई बोल्न ५ मिनेटको समय दिए ।
सूर्यदर्शन सहकारीबाट अर्बौं रुपैयाँ गोर्खा मिडियामा लगानी भएको थिङले बताइन् । अर्बौं लिँदाका सञ्चालक तथा प्रबन्धक रवि लामिछानेलाई कारबाही हुन्छ कि हुँदैन भनेर प्रश्न गरिन् । ‘रविको ठाउँमा अरु भएको भए कारबाही हुन्थ्यो होला । कानुन लाग्थ्यो होला । रवि लामिछाने भएकाले अनुसन्धान नै रोकिने यो कस्तो सरकार हो ? सरकार जवाफदेही हुनपर्छ कि पर्दैन ?,’ थिङले भनिन् ।
उनले मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकको निर्णय पढेर सुनाइन् ।
‘लामखुट्टेले त कानमा टुइयाँ गर्दै घन्टी बजाएर म टोक्छु भनेर सूचना दिन्छ भने कांग्रेसले धेरै दिनदेखि सूचना दिँदासमेत सरकारले वास्ता नगरेर गैरजिम्मेवार बनेको छ । सरकारले कांग्रेसलाई गलाउने र संसदीय छानबिन समिति गठन नगर्ने भएकाले कुनै पनि काम कारबाही अघि नबढाउन अनुरोध गर्दछु,’ थिङले भनिन् ।
सत्तापक्षका सांसद पनि उठे । रास्वपा सांसस झालाई समय दिए । सांसद झाले बोल्दै गर्दा कांग्रेस सांसदहरू उभिइरहे । सांसद झाले सम्बोधन सुरु गरेलगत्तै उनलाई रोकेर कांग्रेस सांसदलाई फकाउन सभामुख घिमिरे लागे ।

‘सदन अवरोध गर्दा जनताको आवाज अवरोध हुन्छ । आगलागीका घटना विसंगति र समस्याका कुराहरू आइरहेका छन्,’ उनले भने । सबै मिलेर सदनको वातावरण अघि लानुपर्ने उनले बताए । सभामुख घिमिरेले नियमित कार्यसूची प्रभावित हुन नदिन प्रयास गरिएको बताए । प्रतिपक्षका सांसदहरूलाई बसेर वातावरण सहज पार्न आसन ग्रहण गर्न उनले आग्रह गरे ।
तर, कांग्रेस सांसदहरू बसेनन् । उठेर विरोध गरिरहे । उनीहरूले टेबुल ठोकिरहे । सभामुखले आसन ग्रहण गर्न आग्रह गरिरहे । आसन ग्रहण गरेर सांसद झाको कुरा सुनेर अघि बढौँ भनेर आग्रह गरिरहे । सदनमा होहल्ला भयो । दुवै पक्षका सांसदहरू उभिइरहे ।
छलफलबाट सदन चल्ने वातावरण बनाउन आग्रह गरे । ‘यहाँबाट समय दिएपछि बोल्ने बानीको विकास गरौँ, सदन चल्ने वातावरणका लागि उठिरहेका सबै माननीय सदस्यहरूलाई आसन ग्रहणको लागस आग्रह गर्दछु,’ सभामुखले भने ।
सभामुखले आग्रह गरिरहँदा एमाले मुख्य सचेतक महेश बर्तौला बोल्दै थिए । हल्ला भएको र उनको माइक बन्द रहेकाले आवाज प्रस्ट थिएन । सदनमा दुवै पक्षका सांसहरू उभिइरहे । उपप्रधान तथा गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने भने बसिरहेका थिए ।
सभामुख घिमिरेले नियम सुनाउन थाले । क्यालेन्डरका आधारमा कार्यसूचीमा प्रवेश गर्न बनाएको विधि अपनाउन चाहेको बताए । विधायकी कार्यमा पछाडि परेको, काम सम्पन्न गर्न नसकेको, संसदको भूमिका प्रभावकारी हुन नसकेको कुरा भन्दै सांसदलाई सम्झाउने प्रयास गरे ।
मनिस झालाई बोल्ने समय दिएकाले उनलाई बोल्ने वातावरण दिन आग्रह गरे । ‘आलोपालो बोल्ने वातावरण दिने कि आफ्नो कुराअनुसार जिद्दी गरिरहने ?’ भन्दै सांसदलाई प्रश्न राखे । उनले सदन खुलाउन आग्रह गरिरहे ।
सांसदहरूको सहयोगबिना अप्ठ्यारो हुने, कुरा सुन्नुपर्यो, सुनेपछि अप्ठ्याराहरू आएमा छलफल गर्नुपर्यो भन्दै सांसदहलाई बस्न आग्रह गरिरहे ।
सत्तापक्षका सांसद बसे । सांसद झाको माइकको लाइन काटिएको अवस्थामा थियो ।
विधेयकहरू अघि नबढेकाले आसन ग्रहण गर्न आग्रह गरे । आफूले रुलिङ गरिरहेको र मन्त्रीहरूले पनि कुरा सुनिरहेको बताए । प्रतिपक्षी कांग्रेसलाई कुरा राख्न समय दिएको र अरुको कुरा सुनेर अघि बढ्न आग्रह गरे । उभिएका कांग्रेस सांसदहरूले टेबल ठोकिइरहे । अनि सभामुख घिमिरेले १५ मिनेट स्थागित गरे ।
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १३:४२