स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गत २६ असोजमा भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी प्रा.डा. ऋषिकेश नारायण श्रेष्ठलाई दिए । सोही दिन श्रेष्ठले पदभार ग्रहण गरे । अर्को व्यवस्था नभएसम्मका लागि उनलाई प्रशासनिक र आर्थिक अधिकार पनि छ ।
मन्त्री बस्नेतले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका श्रेष्ठ क्यान्सर रोग विशेषज्ञ भने होइनन् । नेपाल मेडिकल काउन्सिलका अनुसार, उनी जनरल सर्जन हुन् । उनै श्रेष्ठ कार्यकारी निर्देशक बन्न शक्ति केन्द्र धाइरहँदा उनकाे याेग्यतामाथि प्रश्न उठेकाे छ । उमेर हद ६३ वर्ष पूरा हुनुअघि नै कार्यकारी निर्देशक बन्ने खेलमा उनी अघि बढेको अस्पताल स्रोत बताउँछ ।
जबकि ६ पुस २०७७ मा सरकारले जारी गरेको गठन आदेशमा अंकोलजी सर्जन अर्थात् क्यान्सर रोग विशेषज्ञ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशक हुनुपर्ने उल्लेख छ । त्यसमा भनिएको छ, ‘नेपाल सरकारले चिकित्साशास्त्रको सम्बन्धि विषयमा स्नातकोत्तर गरी क्यान्सर रोगको निदान, उपचार तथा रोकथाममा सात वर्ष अनुभव भएको व्यक्ति व्यक्तिहरूमध्येबाट एक जनालाई कार्यकारी निर्देशक नियुक्त गर्नेछ ।’
तर, यो बाध्यकारी प्रावधान श्रेष्ठको हकमा कार्यान्वयन भएन । श्रेष्ठ भने उक्त आरोप अस्वीकार गर्छन् । ‘नेपाल सरकारले कसलाई नियुक्त गर्छ थाहै छैन । यो त क्याबिनेट (मन्त्रिपरिषद्)ले निर्णय गर्ने हो । कसलाई नियुक्त गर्छ भन्ने अत्तोपत्तो छैन । ऋषिलाई नियुक्ति गर्न लाग्यो भनेर कुप्रचार गरिरहेका छन्’, उनले शिलापत्रसँग भने, ‘मैले टाटा मेमोरियल हस्पिटल मुुम्बईबाट सर्जिकल अंकोजलीसम्बन्धी तालिम प्राप्त गरिसकेको छु, क्यान्सर रोग निदानको क्षेत्रमा क्रियाशील छु , ९ वर्ष त प्राध्यापन गरेकै भयो ।’
जिल्ला प्रशासन कार्यालय डोटीले जारी गरेको नेपाली नागरिकताको प्रमाणपत्रमा उल्लिखित विवरणअनुसार श्रेष्ठको जन्म १५ चैत २०१७ मा भएको हो । यस आधारमा आगामी १६ चैतमा उनले अवकाश पाउनेछन् । त्यसअघि नै कार्यकारी निर्देशक बन्न श्रेष्ठको दौडधुप चलिरहेको स्रोतले जनायो ।
उमेर हदमै विवाद
भक्तपुर क्यान्सर अस्पतालको कर्मचारी प्रशासन नियमावली २०५५ को परिच्छेद १२ अनुसार स्थायी सेवामा बहाल रहेको कर्मचारीको उमेर ५८ वर्ष पुगेपछि सेवाबाट अवकाश पाउने छ । हालका निमित्त कार्यकारी निर्देशक श्रेष्ठ भने दुई महिनापछि ६३ वर्ष पूरा हुँदैछन् ।
उनको हकमा यो उमेर हदसम्बन्धी नियमावलीको प्रावधान पनि लागू नभएको स्रोतले जनायो । ६३ वर्ष पूरा हुनुभन्दा सात महिनाअघि निमित्त कार्यकारी निर्देशक भए । तर, श्रेष्ठले भने कर्मचारी सेवाको शर्त र सुविधासम्बन्धी नियमावली २०७८ अनुसार निमित्त कार्यकारी निर्देशक भएको बताएका छन् ।
उक्त नियमावलीको विविधअन्तर्गतको ‘क’ मा उल्लेख छ, ‘अवकाश अवधि सिनियर कन्सल्टेन्टहरूको हकमा ६३ वर्ष, कन्सल्टेन्टहरूको हकमा ६२ वर्ष र बाँकी सबै कर्मचारीको हकमा ५८ वर्ष गर्ने निर्णय गरियो ।’
स्रोतले भने उक्त नियमावली प्रस्तावित मात्र भएको दाबी गरेको छ । यो नियमावली हालसम्म पारित नभएकाे स्राेतकाे दाबी छ । तर, श्रेष्ठले भने उक्त नियमावली पारित भएको जिकिर गरेका छन् । त्यहीँ उल्लिखित प्रावधानअनुसार निमित्त कार्यकारी निर्देशक भएको उनले दाबी गरेका छन् ।
तर, उनलाई यसअघि अस्पतालको व्यवस्थापकीय पक्ष हेर्ने तत्कालीन नेपाल अर्बुद रोग निवारण संस्थाले ८ मंसिर २०७६ मै सेवाबाट अवकास दिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १८:४२