नेपाली टोलीले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा होस् वा सन् २०१८ मा पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दा, टोलीका महत्त्वपूर्ण खेलाडी हुन्, सोमपाल कामी । गुल्मीमा जन्मिएका उनी भारतमा हुर्किएका हुन् । कामको सिलसिलामा उनका बुबा भारतको पञ्जाब गएका थिए र उनी त्यतै हुर्किए ।
सन् २०१३ मा नेपाल आएर उनले क्रिकेट खेल्न थाले । नेपाली क्रिकेट फ्यान क्लबबाट काठमाडौं क्षेत्र नं ३ मा छिरेका सोमपाल सो टोलीका लागि महत्त्वपूर्ण खेलाडी थिए । यू–१९ नेसनल च्याम्पियनसिप प्रतियोगिता जितेको क्षेत्र नं ३ टोलीका लागि सोमपालले दुई शतक प्रहार गरेका थिए भने बलिङतर्फ पनि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
उनको प्रदर्शन देखेर नेपाली क्रिकेट टोलीका तत्कालीन प्रशिक्षक पुबुदु दासानायेके प्रभावित भएका थिए । त्यसपछि सोमपालको राष्ट्रिय टिमको यात्रा सुरु भयो । सन् २०१४ को जनवरीमा यूएईविरुद्ध डेब्यू गरेका उनले सोही वर्ष बंगलादेशमा आयोजित विश्वकपमा टि–२० अन्तर्राष्ट्रिय खेलमा हङकङविरुद्ध डेब्यु गरेका थिए । उनले सो विश्वकपमा ४ विकेट लिएका थिए ।

बलिङ अलराउन्डरका रूपमा परिचित सोमपालले टी–२० अन्तर्राष्ट्रियमा ५२ विकेट लिएका छन् । ब्याटिङतर्फ पनि २६७ रन बनाएका छन् । सन् २०१४ को विश्वकपमा अफगानिस्तानविरुद्ध उनले १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बल फालेका थिए ।
नेपाली टोलीका प्रिमियर फास्ट बलर रहेका उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेका थिए । उनले डेब्युमै नेदरल्यान्ड्सका तीन ब्याट्सम्यानलाई पभेलियनको बाटो देखाएका थिए । हालसम्म उनले एकदिवसीय अन्तर्राष्ट्रियमा ६५ विकेट लिँदा ५५४ रन बनाएका छन् । उनले केही समयअघि पाकिस्तान र श्रीलंकामा सम्पन्न एसिया कपमा भारतविरुद्ध ४८ रनको महत्त्वपूर्ण पारी खेलेका थिए ।

उनी नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रियको एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडीसमेत हुन् । उनले सन् २०१९ मा यूएईविरुद्धको खेलमा पाँच विकेट लिएका थिए । सन् २०१४ देखि निरन्तर नेपाली टोलीमा रहेका सोमपाल दुईपटक टी– २० विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बन्न सक्नेछन् । आगामी जेठ २२ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि नेपाल छनोट भएसँगै सोमपाल नेपाली टोलीबाट दुईपटक टी–२० विश्वकप खेल्ने पहिलो खेलाडी बन्ने भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २९, २०८० ०७:४९