केही वर्षअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाबीच त्रिदेशीय प्रतियोगिता भएको थियो । प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपाल र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गरेका थिए ।
यता लामो समयदेखि भरपर्दो ओपनिङ जोडी नभएका कारण खराब ब्याटिङको समस्या झेलिरहेको नेपाली टोलीले भरपर्दो ओपनिङ जोडी खोजिरहेको थियो ।
नेदरल्यान्ड्सविरुद्धको खेलमा ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले नेपालका लागि ओपनिङ ब्याट्सम्यानको रूपमा डेब्यु गरेका थिए । उक्त खेलमा कुशल भुर्तेलले ६२ रन बनाए । त्यसलगत्तै मलेसियाविरुद्धको खेलमा पनि भुर्तेलले ६१ रनको अर्धशतकीय पारी खेले ।

आफ्नो डेब्युको तेस्रो खेलमा पनि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गर्दै कुशल भुर्तेल डेब्युमा नै लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बने । त्यसयता भुर्तेलले नेपाली टोलीको ओपनिङ ब्याट्सम्यानको भूमिका निभाउँदै आएका छन् ।
२०७८ वैशाखमा टी– २० अन्तर्राष्ट्रियमा डेब्यु गरेका भुर्तेलले त्यसै वर्ष पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि ४६ खेल खेलिसकेका छन् । उनले १ हजार ३२ रन बनाउँदा नामिबियाविरुद्ध सर्वाधिक १ सय १५ रन बनाएका छन् ।
उनी गत असारमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा टेस्ट राष्ट्रविरुद्ध करिअरको दोस्रो शतक बनाउन एक रनले चुकेका थिए । जिम्बावेविरुद्धको खेलमा भुर्तेल ९५ बलमा ९९ रन बनाएर बोल्ड आउट भएका थिए ।
यता, टी–२० अन्तर्राष्ट्रियमा भुर्तेलले २९ खेल खेलेका छन्, जसमा उनले ९१५ रन बनाएका छन् । उनले ७ अर्धशतक र एक शतक प्रहार गरेका छन् । उनले सन् २०२२ मा फिलिपिन्सविरुद्ध सर्वाधिक १०४ रन बनाएका थिए ।
सन् २०२१ यता नेपालको ओपनिङ ब्याटिङ सम्हालिरहेका भुर्तेलले केही महिनाअघि सम्पन्न एसिया कपमा डेब्यु गरेका थिए । नेपालले पहिलोपटक भारत र पाकिस्तानविरुद्ध खेल्ने अवसरसमेत प्राप्त गरेको थियो ।

भारतीय बलरविरुद्ध उनले प्रहार गरेको पुल सटको विश्वभर चर्चा भएको थियो । उनीलगायत नेपाली ब्याट्सम्यानहरूले भारतीय बलरहरूले फालेको सर्ट बलमा उत्कृष्ट प्रहार गरेका थिए । भारतीय पूर्वक्रिकेटर गौतम गम्भीरले लामो समयपछि एसोसिएट राष्ट्रले राम्ररी सर्ट बल खेलेको भन्दै नेपाली टोलीको तारिफसमेत गरेका थिए ।
पछिल्लो समय कुशल भुर्तेल अस्ट्रेलियामा क्रिकेट खेल्दै छन् । भिक्टोरियन प्रिमियर क्रिकेट खेल्न अस्ट्रेलिया पुगेका भुर्तेलले फ्रान्क्सटन पेनिन्सुला क्रिकेट क्लबको प्रतिनिधित्व गरिरहेका छन् । उत्कृष्ट ब्याट्सम्यानको रूपमा छवि बनाइसकेका भुर्तेलले अस्ट्रेलियामा निकै सम्मान पाइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ०७:०८