भारतको चर्चित गायन रियालिटी शाे इन्डियन आइडलमा नेपालकी मेनुका पौडेलले उल्लेखनीय फड्को मार्दै गएकी छिन् । उनी उक्त प्रतियोगिताको उपाधि जित्न उन्मुख छिन् । उनको गलाको कलाबारे भारतका सबै दिग्गज संगीतकारहरूले खुलेरै प्रशंसा पनि गरिरहेका छन् ।
झापाकी मेनुका पौडेलले यसरी भारतमा गायनमार्फत तहल्का मच्चाइरहँदा उनको कलाको कदर नेपालमा नभएको पनि टिप्पणी हुन थालेको छ । उसाे त यसअघि मेनुकाले नेपालमै आयोजित नेपाल आइडलको पहिलो संस्करणमा पनि भाग लिएकी थिइन् ।
त्यसबेला अडिसन राउन्डमा उनले स्वर सम्राट नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो पनि’ बोलको गीत गाएर निर्णायकहरूको मन जितेकी थिइन् । त्यस क्रममा ‘कोइली’को उपमा पाएकी मेनुका आफ्नो सुमधुर आवाजको जादु छर्दै नेपाल आइडलको शीर्ष ११ सम्म पुग्न सफल भइन् ।
भिन्न क्षमताका साथ जन्म लिएकी मेनुकाले आँखा देख्दिनन् तर संगीतमा उनी निकै अब्बल छिन् । मेनुकाका अनुसार संगीतलाई मानिसले आँखाले देख्दैनन् ‘मन र मस्तिष्क’ले महसुस गर्दछन् ।
नेपाल आइडलमा साेचेजस्तो नतिजा नआए पनि उनले निरन्तर साधना गरिरहिन् । भारतको सुरेश वाड्कर अजिभासन म्युजिक एकेडेमीबाट संगीत सिकेकी मेनुकाले सन् २०१८ मा भारतीय रियालिटी शाे ‘सारेगमपा’मा भाग लिएकी थिइन् । त्यसबेला पनि उनले सबै निर्णायकको मन त जितिन् तर उपाधि जित्नबाट भने विमुख भइन् । सारेगमपामा पनि उनको यात्रा शीर्ष ११ सम्म मात्रै रह्यो ।
अहिले भने मेनुका चर्चित भारतीय गायन रियालिटी शाे इन्डियन आइडल सिजन १४ की प्रतिस्पर्धी हुन् । उनले प्रतियोगिताको अडिसन राउन्डमा लता मंगेशकरको ‘ओ पालन हारे’ बोलको गीत गाएर ‘गोल्डेन माइक’ नै जितिन् । उनको प्रस्तुति देखेर आइडलका निर्णायकहरूले आँसु थाम्न सकेनन् ।
मेनुकाले हरेक हप्ता आफ्नो उत्कृष्ट गायन कलाले निर्णायक तथा दर्शकहरूलाई प्रभावित पार्दै आएकी छिन् । उनले तुम्हे देखती तो लग्ता हैँ ऐसी, सत्यम् शिवम् सुन्दरम्, छुप्के से, जिए तो जिए, गली मे आज चाँद निकला, एक प्यारका नग्मा हैँ, चन्दन सा बदन, अगर तुम साथ हो लगायताका चर्चित गीतहरूमा प्रस्तुति दिएकी छिन् । सबैजसाे प्रस्तुतीमा मेनुकाको गायनलाई उठेर ताली बजाउँदै सम्मान गर्ने गरिएको छ ।
यतिबेला त मेनुकाले बलिउडमै गीत गाउने मौका पाएकी छिन् । बाहुबली स्टारर प्रभास अभिनित चलचित्र ‘सालर’मा मेनुकाले गीत नै गाइसकेको भारतीय संचारमाध्यमले जनाएका छन् । आफ्नो गायन कलाले सबैको मन जितिरहेकी मेनुकालाई ब्लकबस्टर बलिउड चलचित्र केजीएफका निर्देशक प्रशान्त निलले आगामी फिल्म सलारमा पार्श्व गायनको अवसर प्रदान गरेसँगै मेनुकाको सांगीतिक यात्रामा अर्को आयाम थपिएको छ ।
पद्यमश्री पुरस्कार प्राप्त गरेका भारतीय संगीत निर्देशक आन्दनजी भिर्जी साहले त मेनुकालाई ‘क्वीन अफ मेलोडी’ भनेर चिनिएकी गायिका लता मंगेशकरसँगै तुलना गरेका छन् । यस्तै, बलिउड अभिनेता रणवीर कपुर मेनुकाको स्वर सुनेर भावुक बनेका थिए । उनले देवी नम्बर २ भन्दै मेनुकाको खुट्टा नै ढोगेका थिए ।
बलिउडको पार्श्व गायनमा अवसर पाएपछि मेनुका मख्ख छिन्, उनीसँगै नेपालीहरू पनि खुसी छन् । मेनुका भन्छिन्,‘यसरी भारतीय सिनेमाको पार्श्व गायनको प्रस्ताव आउनु मेरो जीवनको पहिलो टर्निङ प्वाइन्ट हो ।’
संगीतमा सफलताको खुड्किलो चढिरहेकी मेनुका इन्डियन आइडलको शीर्ष १२ मा प्रतिस्पर्धा गरिरहेकी छिन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० १७:१३