यूएईमा जारी एसीसी यू–१९ एसिया कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल अफगानिस्तानविरुद्ध ७३ रनले पराजित भयो । अफगानिस्तानले प्रस्तुत गरेको २६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रेको नेपाली टोलीको सुरुवाती ओभरदेखि नै नियमित रूपमा विकेट गएको थियो ।
एकातिर एकपछि अर्का नेपाली ब्याट्सम्यान आउट भइरहँदा १८ वर्षे अर्जुन कुमाल भने क्रिजमा टिकेर खेलिरहेका थिए । अफगानिस्तानविरुद्ध नेपालको इनिङ्सको पहिलो बल र अन्तिम बल खेलेका अर्जुनले ९१ रनको सानदार पारी खेले ।
गुल्मी घर भएका अर्जुन परिवारसँग भारतको राजधानी नयाँ दिल्लीमा बस्दै आएका छन् । प्रतियोगिताका दौरान नेपाल आउने अर्जुन प्रतियोगिता नभएको समयमा बुबाआमासँग बस्न भारत नै जाने गर्छन् ।
२०७५ सालमा भएको यू–१६ क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट खेलेका अर्जुन उक्त प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान चुनिएका थिए । उनले ३ खेलमा १४२ रन बनाएका थिए ।

पछिल्लो समय अर्जुन नेपाली युवा टोलीको भरपर्दो सदस्य बनेका छन् । गत महिना मलेसियामा सम्पन्न एसीसी यू– १९ प्रिमियर कपमा साउदी अरबविरुद्ध अर्जुनले १४२ रन बनाएका थिए । अन्तर्राष्ट्रियस्तरमा कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक स्कोर हो । यसअघि एसियाडमा मंगोलियाविरुद्ध कुशल मल्लले सर्वाधिक १३७ रन बनाएका थिए ।
यसबाहेक सन् २०२४ को यू– १९ विश्वकप एसिया छनोट प्रतियोगितामा अर्जुनले कुवेतविरुद्ध १०८ रन बनाएका थिए । उनी यू– १९ स्तरमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ओपनिङ ब्याट्सम्यान हुन् । उनलाई कतिपयले नेपाली क्रिकेटकाे भविष्यसमेत भन्न थालेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८० ०७:१९