सामान्यतया शरीर चिलाउने, फुस्रो हुने भएको अवस्थामा मानिसहरू बेवास्ता गरिरहेका हुन्छन् । त्यही बेवास्ताले विभिन्न जोखिम निम्त्याउन सक्ने विज्ञहरूको बुझाइ छ ।
छाला रोगको गम्भीरता व्यक्तिपिच्छे फरक हुन सक्छ । त्यस्तै, गम्भीरता निम्त्याउन सक्ने छाला रोगमध्ये एक मानिन्छ ‘सोरियासिस’ । सोरियासिस एक दीर्घकालीन रोग हो ।
छाला रोग विशेषज्ञ डा. प्रज्वल पुडासैनीका अनुसार सोरियासिस भनेको एक ‘इन्फ्लामेट्री’ रोग हो । यस रोगमा छालामा कत्ला तथा राता दागहरू देखिने हुन्छ । यो विशेषगरी कुहिना, हत्केला, ढाड र तालुमा फुस्रो खालको चिलाउने रातो टाटो हुन्छ । र, त्यसमा चाँदीजस्ता कत्लाहरू निस्कने हुन्छ ।
उनी भन्छन्, ‘दीर्घकालीन रूपमा यो समस्या हुने हो भने ढाड, स–साना जोर्नीका हड्डीहरूमा दुख्ने हुन्छ । अलि लामो समय भयो भने हात, खुट्टाका औँलाहरू झर्नेसमेत हुन सक्छ ।’
के कारणले हुन्छ ?
यो धेरैजसो वंशाणुगत र वातावरणका कारणले हुने गरेको छ । वंशाणुगतमा बुवा–आमालाई यो समस्या छ भने छोराछोरीलाई हुने सम्भावना बढी हुन्छ । र, जुम्ल्याहामा पनि यो हुन सक्ने जोखिम उच्च रहन्छ ।
तर, बुवाआमामध्ये एक जनालाई मात्र सोरियासिस छ भने बच्चालाई हुने सम्भावना कम हुन्छ । त्यस्तै, यो हुनुको अर्को कारण भने मोटोपना, कलेस्टेरोल, मधुमेह भएका व्यक्तिलाई यो समस्या बढी हुने गरेको डा. पुडासैनी बताउँछन् ।
उनी भन्छन्, ‘तनावहरू बढी लिनाले सोरियासिस अझ बढ्ने गर्छ । जाडो मौसममा बढेको पाइन्छ । त्यस्तै, घामका विकिरणहरूले पनि यो बढ्छ । घाउ चोटपटकहरूले पनि बढ्ने गरेको देखिने गरेको छ ।’ र, मनोरोग, मुटुका रोगमा प्रयोग हुँदै आएका केही सेवन गर्ने औषधिहरूले पनि यो समस्या बढ्ने गरेको छ । ‘औषधिको प्रयोगले पनि कहिलेकाहीँ यो समस्या बढेको देखिन्छ’, उनी भन्छन् ।
कसरी थाहा पाउने ?
चिकित्सकले सामान्य जाँच तथा पारिवारिक पृष्ठभूमि हेरेर यो पत्ता लगाउन सक्ने डा. पुडासैनी बताउँछन् । यो १६ देखि २२ वर्ष र ५७ देखि ६२ उमेर समूहमा यो धेरै देखिने गरेको छ । र, यसको पहिचानका लागि कुहिना, घुँडा, ढाड, तालु, हत्केला र पैतालामा राता टाटा देखिने गर्छन् ।
डा. पुडासैनीका अनुसार शरीर फुस्रो हुने, चिलाइराख्ने हुन्छ । र, यो समस्या जाडो महिनामा बढ्ने गर्छ । त्यस्तै, छाला सुक्खा भई चिरा पर्ने हुन्छ । छालाको पत्र गइरहने समस्या पनि हुन सक्छ ।
उपचार के छ ?
डा. पुडासैनीका अनुसार यो समस्यालाई औषधिउपचार गरेर रोकथाम गर्न सकिन्छ । तर, यसलाई असर पर्ने विभिन्न कुराले भने पटकपटक बल्झाउन सक्छ । यो छालामा देखिने एक प्रकारको दीर्घ रोग हो ।
सोरियासिस रोगले छाला सुक्खा बनाइराख्ने भएकाले चिकित्सकले दिएका औषधि तथा मलमहरू मात्र प्रयोग गर्नुपर्ने डा. पुडासैनी बताउँछन् ।
उनी भन्छन्, ‘मनपरी औषधिको प्रयोगले असर पुर्याउँछ । यस्ता औषधिको धेरै प्रयोगले शरीरका अंगहरूमा असर गर्न सक्छ । र, रोग झन् बढ्न सक्छ ।’ र, योबाहेक रोगको प्रकृति हरेर विभिन्न माध्यमबाट उपचार गर्ने गरिन्छ ।
कसरी बच्ने ?
डा. पुडासैनीका अनुसार चुरोट र जाँडरक्सीको सेवनले यो अझै धेरै बढ्ने भएका कारण यी कुराहरूको प्रयोग गर्न हुँदैन । उनी भन्छन्, ‘धूमपान तथा मद्यपानबाट टाढै बस्नुपर्छ । हातखुट्टा धेरै सुक्खा राख्नु हुँदैन ।’
त्यस्तै, छालालाई नरम राख्नुपर्छ । त्यसका लागि तेल, लोसनको प्रयोग गर्नुपर्छ । जाडो मौसममा सोरियासिस धेरै देखिने भएका कारण यो मौसममा विशेष ख्याल राख्नुपर्छ । र, मोटोपना भएका व्यक्तिहरूले तौल नियन्त्रण गर्न आवश्यक हुन्छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १९:००