शरीरका विभिन्न भागमा मुसा अर्थात् जेनइटल वार्ट्स आउने गरेको अधिकाशंलाई थाहा नहुन सक्छ । तर, यौनाङ्गमा पनि मुसा आउन सक्छ भन्नेबारे थोरै व्यक्ति जानकार हुने गरेका छन् । यौनाङ्गमा स–साना मासुका डल्ला देखिएका छन् भने त्यो मुसा हुन सक्छ ।
मुसाका बारेमा महिला, पुरुष स्वयम् जानकार नहुने गरेको पाइएको छ । र, त्यसलाई बेवास्ता गर्ने गरेको प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी बताउँछन् ।
उनी भन्छन्, ‘त्यसरी बेवास्ता गरिने समस्याले अर्को समस्या निम्त्याउन सक्छ । त्यसैले समयमै उचार गरिहाल्नुपर्छ ।’
अमेरिकास्थित नेसनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सस डिजिजका अनुसार यौनाङ्गमा पलाउने मुसा ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) को संक्रमणका कारण हुने गर्छ ।
त्यस्तै, अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यौन क्रियाकलापमा सक्रिय करिब १ प्रतिशत अमेरिकीलाई जीवनको कुनै न कुनै समयमा यौनाङ्गमा मुसा आउने गरेको छ ।
कसरी थाहा पाउने ?
डा. अधिकारीका अनुसार ‘मलस्कम कन्टाजियसम’ भन्ने एउटा अर्ग्यानिज्मका कारण यौनाङ्गमा मुसा आउने गर्छ ।
शरीरका विभिन्न भागमा देखापर्ने सबै मुसा एकैखाले हुँदैनन् । त्यसैले हात–खुट्टा र योनीमा आउने मुसा पनि फरकफरक खालका हुन्छन् । यौनाङ्गमा देखिने मुसाको समयमै औषधि गरिएन भने यो मुसाले पूरै यौनाङ्गलाई ढाक्न सक्छ । फेरि औषधि गरिरहँदा पनि मुसा फैलिँदै गयो भने यो घातक पनि हुन सक्छ ।
त्यसरी मुसा फैलिरहेमा काट्नुपर्ने हुन सक्छ । अन्यथा यसले क्यान्सरको जोखिम निम्त्याउन सक्छ ।
डा. अधिकारीका अनुसार यौनाङ्गमा मुसा भएका व्यक्तिसँग यौनसम्पर्क गर्दा यो सहजै अन्य व्यक्तिमा पनि सर्न सक्छ ।
यौनाङ्गमा देखिने मुसा एक्लै वा काउलीको आकारमा हुने गर्छ । र, यो व्यक्तिको छालाकै रङको हुने गर्छ । तर, यो दुख्दैन । मुसा देखिएको भागमा चिलाउन भने सक्छ ।
महिलामा यस्तो मुसा विशेषत: योनीको माथिल्लो भाग, योनीभित्र, गर्भाशयको मुखमा देखिने गर्छ । तर, पुरुषको हकमा भने लिङ्ग, अण्डकोषमा बढि देखिने गर्छ ।
असुरक्षित यौनसम्पर्कले निम्त्याउने जोखिम
डा. अधिकारीका अनुसार यसलाई यौन रोगका रूपमा चिनिन्छ । यो असुरक्षित यौन सम्पर्क गर्दा सहजै रूपमा सर्ने गर्छ ।
त्यसो त यौनसम्पर्क मात्र नभएर मुखमैथुन, गुँदमैथुन गर्दा पनि यसको जोखिम उत्तिकै हुने डा. अधिकारीको भनाइ छ ।
उनी भन्छन्, ‘यौनाङ्गमा मुसा भएको अवस्थामा मुखमैथुन गर्दा ओठ, जिब्रोसँगै मुखभित्र पनि मुसा आउन सक्ने सम्भावना हुन्छ । त्यस्तै, मुसा भएका व्यक्तिले प्रयोग गरेका ‘सेक्स टोय’हरू प्रयोग गर्दासमेत यो अर्को व्यक्तिमा सर्न सक्छ ।’
जोगिन के गर्ने ?
डा. अधिकारीका अनुसार यौनाङ्गमा देखिने मुसालाई हानिकारक मानिन्छ । यसबाट जोगिनका लागि सबैभन्दा महत्त्वपूर्ण सुरक्षित यौनसम्पर्क हुन जरुरी हुन्छ । र, सकेसम्म एक जनासँग मात्र यौन सम्पर्क राख्नुपर्छ ।
डा. अधिकारी भन्छन्, ‘मल्टिपल सेक्स पार्टनर हुँदा यसको जोखिम धेरै हुने गर्छ ।’
प्रकाशित मिति: मंगलबार, असोज २, २०८० १९:००