नेकपा एमालेको लुम्बिनी प्रदेश अधिवेशन नजिकिँदै जाँदा गुटगत भेला हुन थालेका छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलनिकट नेताहरूले छुट्टाछुट्टै बैठक र भेला गर्न थालेका छन् ।
लुम्बिनी प्रदेश अधिवेशनमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेल समूहबीच प्रतिस्पर्धा हुने लगभग निश्चितजस्तै छ । त्यसैले पनि पौडेल र पोखरेल समूहका नेताहरूले गोप्य भेला र बैठक गरिरहेका छन् ।
अधिवेशनलाई लक्षित गरेर महासचिव पोखरेलनिकट नेताहरूले एक रिसोर्टमा गोप्य भेला गरेका छन् । पोखरेल समूहबाट अध्यक्षका आकांक्षी हरि रिजालले बुटवलको ढवाहमा रहेको आरम्भ रिसोर्टमा आफ्नो समूहको भेला गरेका हुन् । केन्द्रीय सदस्य रहेका रिजालले प्रदेश अध्यक्षमा दाबी गरिरहेका छन् । महासचिव पोखरेलको ग्रिन सिग्नल पाएपछि रिजालले प्रदेश अध्यक्षका लागि आफ्नो सक्रियता बढाएका हुन् ।
भेलामा एमालेका केन्द्रीय सदस्यहरू, प्रदेशसभा सदस्य र १० जिल्ला अध्यक्षहरू सहभागी थिए । रिजालले बोलाएको भेलामा महासचिव पोखरेलनिकट केन्द्रीय सदस्यहरू बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भूमिश्वर ढकाल, पाल्पाका नारायणप्रसाद आचार्य, नवलपरासीका थानप्रसाद गैरेलगायतका नेताहरू सहभागी थिए ।
भेलामा चुनावी रणनीति र रिजालको समूहबाट पदाधिकारीमा चुनाव लड्दा समावेश गर्ने नेताहरूका विषयमा छछलफल भएको स्रोतले जनाएको छ । तर, प्युठान जिल्ला अध्यक्ष विजयविराज विष्टले भने शीर्ष नेताहरूलाई सहमतिका लागि दबाब दिन भेला गरिएको बताएका छन् ।
'सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिन भेला गरिएको हो,' उनले भने, 'सहमतिमा नेतृत्व चयनका लागि पहल गर्छौं । तर, भएन भने चुनावमा जानुपर्छ । त्यसैले चुनावमा जाँदा कसरी अघि बढ्ने भन्नेबारे छलफल गरेका हौँ ।'
बैठकमा सहभागी केन्द्रीय सदस्य शिवराज सुवेदीले भने गोप्य भेला नभएको बताए । 'अधिवेशनबारे छलफल गर्न साथीहरू बसेका हौँ । गुटका नाममा कुनै भेला भएको होइन,' उनले भने ।
उपाध्यक्ष विष्णु पौडेलनिकट नेता विष्णु पन्थीले भने अधिवेशनको पूर्वसन्ध्यामा सानातिना भेला हुनुलाई सामान्य रूपमा लिनुपर्ने बताउँछन् । पार्टीलाई जीवन्त राख्न प्रतिस्पर्धा हुनुपर्ने बताउँदै उनले नेतृत्वका आकांक्षीहरूले चुनाव जित्न भेला र बैठक गर्नु स्वाभाविक भएको बताए ।
एमालेको लुम्बिनी अधिवेशन १६ र १७ भदौमा बुटवलमा हुँदैछ । लुम्बिनी प्रदेशको अध्यक्षका लागि उपाध्यक्ष पौडेलनिकट बहालवाला अध्यक्ष राधाकृष्ण कँडेल र महासचिव पोखरेलनिकट केन्द्रीय सदस्य रिजाल आकांक्षी छन् । अध्यक्षका लागि दाङका लक्ष्मण आचार्यले पनि दाबी गरिरहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८० १३:०७