महिला विश्वकप फुटबल २०२३ मा डिफेन्डिङ च्याम्पियन अमेरिकाले विजयी सुरुवात गरेको छ । शनिबार न्यूजिल्यान्डको इडन पार्कमा भएको खेलमा अमेरिकाले भियतनामलाई ३–० गोलले पराजित गरेको हो ।
अमेरिकाको जितमा सोफिया स्मिथले दुई र लिन्डसी होरानले एक गोल गरिन् । खेलको १४औँ मिनेटमा सोफियाले गोल गर्दै अमेरिकालाई १–० गोलको अग्रता दिलाइन् । खेलको ४१औँ मिनेटमा अमेरिकाले पेनाल्टी पाएको थियो । भिडियो असिस्टेन्ट रेफ्रिबाट पाएको पेनाल्टी एलेक्स मोर्गनले गोल गर्न नसक्दा अमेरिका अग्रता दोब्बर बनाउनबाट चुक्यो ।
पहिलो हाफको इन्ज्युरी समयमा सोफियाले गोल गर्दै अमेरिकालाई २–० गोलको अग्रता दिलाइन् । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको अमेरिकाले दोस्रो हाफमा थप एक गोल गर्दा भियतनामले भने राम्रो खेल्न सकेन । खेलको ७७औँ मिनेटमा होरानले गोल गर्दै अमेरिकालाई ३–० गोलको जित दिलाइन् ।
समूह ‘ई’ मा रहेको अमेरिकाले तीन अंक बटुलेको छ । यो समूहमा अमेरिकासँगै भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल रहेका छन् ।

त्यस्तै, आजै भएको अर्को खेलमा एसियाली राष्ट्र जापानले जाम्बियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । जापानको जितमा हिनाटा मियाजावाले दुई, मिना टानका, जुन इन्डो र रिको उकीले समान १–१ गोल गरे ।
कमजोर देखिएको जाम्बियाविरुद्ध पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा थप चार गोल गर्दै जित निकालेको हो । समूह ‘सी’ मा रहेको जापानले यो जितसँगै तीन अंक बटुलेको छ । यो समूहमा रहेका स्पेनले शुक्रबार (हिजो) कोस्टारिकालाई ३–० गोलले पराजित गरेको थियो ।
प्रकाशित मिति: शनिबार, साउन ६, २०८० १६:५५