मुन्धुमीस्थलमा पुगेर जिज्ञासा राख्दै गर्दा बल्ल थाहा भयो कि मानिसले गर्ने हरेक कार्यको परिणाम वा प्रतिफल समयले निर्धारण गर्दो रहेछ ।
कुनै व्यक्तिले पौडेर खोला त तर्यो तर उसले वर्षात् ऋतुमा तर्यो या शिशिर ऋतुमा तर्यो ? हाँस्नु स्वास्थ्यका लागि लाभदायक हो तर ऊ कुनै मनोरञ्जनको क्षणमा हाँस्दै छ कि मराउपराउ परेको घरमा अट्टहास गर्दै छ ?
यसपटक भएको मेरो मुन्धुमीस्थलको मायावी यात्रा यस्तै बोध गरेर बित्यो । कुनै बेला अनुहारमा कृत्रिम मुस्कान ल्याएर घोसेमुन्टो लगाउँदै यात्रा गरेको ठाउँमा यसपटक अन्तरमनमा हर्षले विभोर हुँदै बिताएँ ।
०००
‘नेतृत्व माछा हो भने जनता पानी हो । त्यसैले नेतालाई जनसमुदायसँग मिलाउनू र पार्टीलाई जनतासँग जोड्नू ।’ माओले भनेझैँ हाम्रो पार्टी एमालेले ५ फागुन २०७९ देखि दुईमहिने ‘मिसन ग्रासरुट’ अभियान थाल्यो । गाउँबस्तीमा पसेका अभियन्ताहरू सर्वसाधारणले व्यहोरेका दुःखकष्टलाई प्रत्येक्ष देखेर अनि, अभाव, गरिबी र दुर्गमताले आक्रान्त जनताका अरण्य रोदन सुनेर फर्केपछि प्राप्त सन्देशअनुसार अघि बढ्ने योजना थियो ।
अन्तरजिल्लाका दुईदेखि चारवटासम्म स्थानीय तहका वडास्तरमै सबै केन्द्रीय सदस्यहरूलाई पठाइएको थियो । ताप्लेजुङ जिल्लाका फक्ताङलुङ, सिरिजङ्घा र सिदिङ्वा गरी तीनवटा गाउँपालिकाका २२ वटा वडा मेरा कार्यक्षेत्र बनेका थिए । दार्शनिक उमङ्ग, सैद्धान्तिक रङ, राजनीतिक जोस, सामाजिक जाँगर र साङ्गठनिक क्रियाशीलताको मूल फुटाउने १२ वटा कार्यादेश केन्द्रीय प्रतिनिधिले पाएका थिए । यो अभियानबाट आठवटा उद्देश्य प्राप्त हुन्छ भन्ने पार्टी केन्द्रको अपेक्षा थियो ।
ताप्लेजुङ जिल्लामा नौवटा स्थानीय तह छन् । मेरो जिम्मामा रहेका तीन पालिकाहरूमध्ये फक्ताङलुङ नेपालकै दोस्रो ठूलो गाउँपालिका हो । जनगणना २०७८ अनुसार, फक्ताङलुङमा ११ हजार ९२५ जना, सिदिङ्वामा १० हजार ९८१ जना र सिरिजङ्घामा १४ हजार १८६ जना गरी ३७ हजार ०९२ जनसङ्ख्या छ । २०७९ मंसिरमा सम्पन्न सङ्घ र प्रदेशको चुनावमा निर्वाचन आयोगले निकालेको आँकडाअनुसार क्रमशः ८ हजार ८९० जना, ८ हजार ८७८ जना र ११ हजार ६५९ जना गरी जम्मा २९ हजार ४२७ जना मतदाता छन् ।
अभियानलाई प्रभावकारी बनाउन जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्बो, सहइञ्चार्ज पासाङ शेर्पा, अध्यक्ष भूपेन्द्र थेबे, उपाध्यक्ष सन्तोष खतिवडा, सचिव केशर मेन्याङ्बो, उपसचिवहरू मनिशङ्कर र दिपेन पोमुसँग सरसल्लाह गरी ११ फागुनमा जिल्लाको योजना बैठक बस्यो । सो बैठकमा आठराई त्रिवेणी, पाथिभरा याङ्वरक गाउँपालिका र फुङलिङ नगरपालिकाका केन्द्रीय प्रतिनिधि खगेन्द्र राई पनि आइपुग्नुभयो भने मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकामा केन्द्रीय प्रतिनिधि पर्शुराम मेघी गुरुङ समयाभावले उपस्थित हुन सक्नु भएन ।
अभियानका लागि प्रदेश र जिल्ला प्रतिनिधिहरू पनि तोकिएका थिए । फक्ताङलुङमा धनेन्द्र मादेन र होमकुमारी साम्बा थिए भने जिल्लाका प्रतिनिधिहरू दिनेश अधिकारी, प्रदीप ताप्मादेन, याम अन्छङ्बो, मनि लाबुङ, भद्र बखिमलगायतका साथीहरू थिए । सरोज एभेङ यो पालिकाका पार्टी अध्यक्ष हुन् ।
सिरिजङ्घामा छत्रपति प्याकुरेल र झनलाल तेम्बेलगायत अरू पनि थिए । तर, अभियानभर उनीहरूको उपस्थिति नभएकाले यहाँ उल्लेख गरिएको छैन । जिल्ला प्रतिनिधिहरूमा सन्तोष प्रसाईं, प्रकाश इङ्वारम, दिनेश तुम्याहाङ, कुमारी भट्टराई, छत्र काङ्बालगायत थिए । यो पालिकाका पार्टी कमिटी अध्यक्ष सन्तोष चाम्लिङ हुन् ।
सिदिङ्वा कार्यक्षेत्र परेका प्रदेश प्रतिनिधि कसैको उपस्थिति रहेन । धर्म घिमिरे र इन्दिरा पन्धाकलगायतका साथीहरू जिल्ला प्रतिनिधि हुन् भने मानबहादुर राई सिदिङ्वा गाउँपालिकाका पार्टी अध्यक्ष र निर्वाचित अध्यक्षजस्ता दुवै जिम्मेवारीमा थिए ।
कुनै व्यक्तिले पौडेर खोला त तर्यो तर उसले वर्षात् या शिशिर कुन ऋतुमा तर्यो ? मुन्धुमीस्थलमा पुगेर जिज्ञासा राख्दै गर्दा बल्ल थाहा भयो– मानिसले गर्ने हरेक कार्यको परिणाम वा प्रतिफल समयले निर्धारण गर्दो रहेछ ।
एक हप्ताभित्र तीनवटै पालिकाका योजना बैठकहरू सम्पन्न गर्ने निर्णय जिल्लाको योजना बैठकमै निर्धारण गरियो । सोहीअनुसार १३ फागुनमा फक्ताङलुङ गाउँपालिकाको योजना बैठक वडा नम्बर– ३ को थिवा आधारभूत विद्यालयमा बस्यो । सरोज एभेङ्को अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश प्रतिनिधि धनेन्द्र मादेन, उपसचिव मनिशङ्कर पोमु र पालिका इञ्चार्ज दिनेश अधिकारीलगायत जिल्लाका प्रतिनिधि र पालिका सदस्यहरूको उपस्थितिमा सातवटै वडाहरूको बैठक हप्ता दिनमा सम्पन्न गरिसक्नुपर्ने निर्णय भयो । उक्त निर्णयलाई कार्यान्वयन गर्ने जिम्मा साथीहरूलाई सुम्पेर म अर्को पालिकामा लागेँ ।
१५ फागुन २०७९ सिरिजङ्घा गाउँपालिका कार्यालय तेल्लकमा बस्यो । सन्तोष चाम्लिङको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश प्रतिनिधि छत्रपति प्याकुरेल, सिंहबहादुर इङ्वारम, अनन्त साँवा र पालिका इञ्चार्ज महेन्द्र गौतमलगायत जिल्ला प्रतिनिधिहरू र पालिका सदस्यहरूको उपस्थिति ओजपूर्ण रह्यो । आठवटा वडाको बैठकलाई हप्ता दिनमा सक्ने निर्णय भयो ।
१६ फागुनमा सिदिङ्वा गाउँपालिका कार्यालय साप्लाखुमा बस्यो । यस पालिकामा प्रदेश प्रतिनिधिहरू कोही पनि उपस्थित हुन सकेनन् । त्यस कारण छत्रपति प्याकुरेल, सन्तोष प्रसाईं र सन्तोष चाम्लिङको सहयोगबिना अभियानको कुनै कार्य अगाडि नबढ्ने देखियो ।
मैले नै हारगुहार मागेपछि उहाँहरूको अपार सहयोगले अरू पालिकाहरूजस्तै हप्ता दिनमा यहाँका सातै वडाका बैठकहरू सम्पन्न हुने निर्णय भयो ।
तीनवटै पालिकाका बैठकमा त्यहाँ कार्यरत सबै साथीको उत्साहवर्द्धक उपस्थिति र उहाँहरूको न्यानो स्वागतसहितको व्यवस्थापन पनि कम थिएन । पालिकास्तरीय बैठकपछि भ्याएसम्म म आफैँ पनि वडा तहसम्म पुग्ने लक्ष्य बनाएको थिएँ । सोहीअनुरूप १७ फागुनमा भएको सिनामको बैठकमा हाम्रो समूह पुग्यो । त्यसले प्रशिक्षणको मिति तय गर्यो । छत्रपति प्याकुरेल, सन्तोष प्रसाईं, सन्तोष चाम्लिङ र म काबेली खोलादेखि हिरूवादेन हुँदै करिब सात घण्टाको निरन्तर उकालो हिँडेर सिनाम र थुम्बेदेन शिर देउराली कटेपछि १८ गते सिकैचाको वडा बैठकमा उपस्थित भयौँ ।
अभियान सुरु भएको दुई हप्तामा त अपवादबाहेक सबै वडाको बैठक सम्पन्न भइसकेका थिए । अब पार्टी सदस्यता नवीकरणका लागि पालिका र वडाका पूरक बैठक र प्रशिक्षणको तयारी भइसकेको थियो । बैठकहरू उपल्लो तहबाट हुँदै आएका थिए भने प्रशिक्षणहरू वडाबाट पालिकातिर हुँदै जाने विधि निर्माण गरियो ।
मञ्चमा उभिएर भाषण गर्नु र विषयवस्तुमा केन्द्रित भएर प्रशिक्षण दिनु भनेको वन जङ्गलमै विचरण गर्ने पक्षी त पक्षी नै हुन् तर डाँफे र मयुरजत्तिकै फरक कुरा हो । यो भिन्नताको चुनौतीलाई सामना गर्न सकिने कि नसकिने भयले मलाई पछ्याइरहेको थियो ।
प्रशिक्षक र प्रशिक्षार्थीबीच वाद–विवाद र संवादलाई मृततुल्य बनाएर परम्परागत शैलीमा मञ्चबाट घण्टौँसम्म बडेबडे दार्शनिक शब्दजालहरू ओकल्नु भनेको केवल विषवमन सिबाय के नै हुन्छ र ? त्यो त केवल समयको बर्बादी न हो । प्रशिक्षक र प्रशिक्षार्थीबीचमा अन्तरमनको अन्तरघुलन भएन भने त्यो के प्रशिक्षण ? प्रशिक्षकको हृदयसँग प्रशिक्षार्थीको हृदयभित्र संवाद भएन भने त्यसलाई कसरी उकृष्ट प्रशिक्षण भयो भनेर गर्व गर्नु ? उकृष्ट प्रशिक्षक त त्यो हो, जसले आफ्नो हाउभाउ र भावको प्रभावले जटिलभन्दा जटिल विषयवस्तुलाई पनि हर उदाहरणबाट सहज बनाई प्रशिक्षार्थीको मनमनमा, हृदयहृदयमा र अन्तरमनमा प्रवेश गराउन सफल हुन्छ र विषयलाई बोध गराउँछ ।
प्रयत्न जारी राखे समाधान कसो नहोला भनेझैँ ठीक त्यसबेला प्रदेशले अभियानको मध्यावधि समीक्षा गर्ने योजना बनायो । त्यो योजना ताप्लेजुङमा २०७९ चैत १४ र १५ गते सम्पन्न हुँदा प्रदेश इञ्चार्ज र अध्यक्ष क्रमशः राजेन्द्र गौतम र तुलसी नेउपानेको उपस्थिति रह्यो । मलाई आतङ्कित बनाइराख्ने प्रशिक्षण र भाषणबीचको अन्तर पक्षबारे धेरै हदसम्म त्यसले सहजीकरण गर्यो । यो कार्यक्रममा जिल्लास्तरीय नेतृत्वलाई प्रशिक्षण दिइएको थियो ।
समयाभावले केही वडामा बाहेक म सबै वडामा पुगेँ । ‘मिसन ग्रासरुट’का अर्का केन्द्रीय प्रतिनिधि खगेन्द्र राईले पनि भ्याएसम्म सहयोग गर्नुभयो । उहाँको जिम्मामा रहेका कतिपय वडामा मैले पनि सहयोग गर्न भ्याएँ । जे होस्, ताप्लेजुङको बसाइमा खगेन्द्र राई र मेरो जोडी ‘महजोडी’ जस्तै भएर दुईमहिने अभियान अविस्मरणीय ढङ्गले बित्यो । ती क्षणहरू सम्झँदा मलाई लाग्छ, अब त त्यस्ता पलहरू कहिल्यै आउने छैनन् । वडाहुँदै पालिकास्तरमा पनि प्रशिक्षणहरू त चले । तथापि मलाई उक्त भय अर्थात् ‘मिसन ग्रासरुट’मा मैले दिएको प्रशिक्षण प्रभावकारी भयो कि भएन वा कार्यकर्ताले बुझे कि बुझेनन् भन्ने कुराले जीवनभर पछ्याइरहनेछ ।
०००
२०७३ मा भएको सङ्घीय संरचनाअनुसार फक्ताङलुङ नामकरण भएको यो पालिकाको प्राचीन् एवं चर्चित जलसम्पदा तमोर खोला हो । सायद तमोर खोलाको किनारादेखि अढेसिएर बनेका विकट भूगोलहरू गाउँमा रूपान्तरण भएपछि नेपालको सुदूरपूर्वीय इतिहासको जिब्रोमा तमोर खोला झुण्डियो होला ।
शनैःशनै: जनजिब्रोमा परिणत भएपछि ती बस्ती र गाउँठाउँहरूले चर्चित नाम तमोर खोला पायो होला, र त जब भूगोलको ऐतिहासिक पृष्ठभूमिमा लिम्बूवान् आउँछ, तब तमोर खोलाको उच्चारण नगरी त्यो अपूरो मात्रै होइन, अधुरो नै हुन्छ, फूलबिनाको बोटजस्तै ।
मेरा लागि तमोर खोलाको यो यात्रा तेस्रोपटकको हो । हरेक यात्रा आफूखुसी, आफ्नै इच्छाद्वारा निर्धारण गरिएको थिएन । यी यात्रा तय हुनुका पछाडि ठूलाठूला जीवनकथाहरू लुकेका छन् । कलमका निबले ओकल्न नसकेका थुप्रै आत्मकथा विक्षिप्त छन् । जिन्दगीका विराट् संवेदना र सम्भावनाहरू कुनै बेलाको सपना भएर उभिएका छन् । जसलाई सामान्य प्रसङ्गबाहेक यहाँ उल्लेख गर्नु सम्भव पनि छैन ।
कुनै पनि दुःख, कष्ट र सुख सुविधालाई जीवनले प्रत्यक्ष व्यहोर्नु र स्वैर कल्पनाद्वारा अनुभूत गर्नु अरुण र तमोरजत्तिकै फरक कुरा हुन् । सप्तकोशीमा मिसिने न हो भनेर मात्र पुग्दैन । यिनीहरूका मुहान फरक–फरक छन् । किनारा फरक, वेग फरक अनि सुसाइ फरक । यिनका छाल, तरङ्ग र गहिराइसमेतमा फरकपन छन् ।
उसो त अभाव के हो ? भोक के हो ? गरिबी के हो ? यसले चौबीसै घण्टा चिमोटिरहन्छ, मान्छेलाई । पलपलमा चिथोरिरहन्छ । कोतरिरहन्छ । न दिन भन्छ, न त रात नै । २०४६ सालमा यो निर्दयी अभाव, भोक र गरिबीलाई धरान धनकुटे सडकतिर व्यहोरिरहेको बेला हिलेबजारदेखि विदेशी पर्यटकको रसदपानी बोक्ने मौका मिल्यो । त्यतिबेला तमोरको गडतिरलाई पछ्याउँदै कञ्चनजङ्घा आधार शिविरसम्म पुग्ने सौभाग्य या दुर्भाग्य जुरेको थियो ।
राज्यले नै समानताको सिरक ओढाएपछि त शिक्षा र स्वास्थ्यमा असमानता हुने छैन भन्ने कत्रो आशा थियो । क्षमता र योग्यताअनुसार आफ्नै देशमा रोजगारी पाइने विश्वास पनि त्यत्तिकै थियो । मनको भँडास नभएर सत्य कुरा, जुन घोडा चढे पनि नालै ठोकेको हुँदो रहेछ भनेझैँ आज पनि ती हर समस्याहरू ज्युँका त्युँ छन् ।
आजकाल ती दिनहरू सम्झँदा आफैँलाई कथाजस्तो लाग्छ । जनयुद्धमा लामबद्ध भइरहँदा समाज परिवर्तनका महान् सपनाहरू थिए । गरिब, निमुखा र भुईं मान्छेहरूका व्यावहारिक जीवनमा साँच्चिकै आमूल परिवर्तन हुन्छ भन्ने अपेक्षा थियो । किसानले उत्पादन गरेका हर खाद्य र नगदे वस्तुले सहज रूपमा बजार पाउँछ र त्यसको व्यवस्थापन राज्यद्वारा नै निश्चित हुनेछ भन्ने आशा सबैले गरेका थिए ।
राज्यले नै समानताको सिरक ओढाएपछि त शिक्षा र स्वास्थ्यमा असमानता हुने छैन भन्ने कत्रो आशा थियो । क्षमता र योग्यताअनुसार आफ्नै देशमा रोजगारी पाइने विश्वास पनि त्यत्तिकै थियो । मनको भँडास नभएर सत्य कुरा, जुन घोडा चढे पनि नालै ठोकेको हुँदो रहेछ भनेझैँ आज पनि ती हर समस्याहरू ज्युँका त्युँ छन् ।
राजतन्त्रको अन्त्यसँगै नेपाल र नेपालीहरू समृद्ध हुन्छन् भन्ने सपना र सम्भावनाका विराट् लक्ष्य लिएर हिँडेको बेला २०५८–५९ सालतिर खेजिनिम, सावदेन, लिङ्खिम, इखाबु, तापेथोक, लेलेप र घुन्सातिरका प्रत्येक टोलबस्तीमा पुगेको थिएँ । हुन त त्यसबेला सिरिजङ्घा र सिदिङ्वाका गाउँबस्तीतिर पनि नपुगेको होइन । राज्य पक्षका लागि दुर्गम क्षेत्र भएकाले भूमिगत जीवनका लागि अनुकूल भूगोल मानिन्थ्यो । त्यस कारण कुनाकुना पुगेर राजनीतिक भलाकुसारीमा संलग्न भएको थिएँ । त्यसरी हेर्दा फक्ताङलुङ तेस्रोपटक हो भने अरू क्षेत्रमा दोस्रोपटकको भौतिक उपस्थिति मान्नुपर्छ ।
तेस्रोपटक ‘मिसन ग्रासरुट’को अभियन्ता भएर तमोर खोला पुग्ने सौभाग्य मिल्यो । यहाँ अवस्थित डाँडाकाँडा, थुम्काथुम्की, खोल्साखोल्सी, पाखापखेरा, भिरपहरा, टोलबस्ती र बुट्यानहरूले समेत लिम्बू मुन्धुमका मिथक बोकेका छन् । अतयव: तमोर खोला केवल कुनै एउटा स्थान मात्र होइन, मुन्धुमसम्बन्धी अध्ययन र अनुसन्धानका लागि ती गाउँठाउँहरूलाई एक विश्वविद्यालय नै मान्दा हुन्छ । त्यहाँका प्रत्येक मानिसहरूसँग भएका मुन्धुमी ज्ञानहरू ग्रहण गर्न सके गतिलो सन्दर्भ सामाग्री बन्छ भन्नेमा दुईमत छैन । म पनि यो विषयमा चासो र जिज्ञासा राख्ने हुँदा यसपटकको मेरो यात्रा विशुद्ध राजनीतिक मात्र रहेन ।
लिम्बू जातिको ज्ञानमीमांसासित जोडिएको संस्कृति र मुन्धुमी खोजसँग पनि सम्बन्धित थियो । उक्त कार्यमा मलाई याम अन्छङ्बोले मुन्धुमका धेरै विषय टिपोट गरेर दिए । कतिपय मौखिक सुनाउँदा मैले टिपोटसमेत गर्न सफल भएँ । प्रदीप ताप्मादेनले आदिम मानव सुच्छुरू सुहाङ्फेबाको समाधिस्थल दृश्यावलोकन गराए । विवाहको लगन मुन्धुममा चर्चा हुने नेन्दुरी पासाङ्गा देखाए । तागेरा निवाभू फुक्कुको दर्शन गराए ।
मानिसले पहिलो घर बनाएको स्थान हाङ्फादेन लोक्फादेन चिनाए । सृष्टिमा विधवा र विदुर सुरु भएको फङ्दुरा केक्तुरा, गरिब दुःखी गाउँ सिसेवा खेसेवा चुङ्जीगेन एच्छा पाङ्भे, जूनघाम नउदाउने भनिने लामेन्दा, नाम्मेन्दा, पाङ्भेलगायत थुप्रै मुन्धुमी स्थलहरूको साक्षात्कार गराए । राजेन्द्र ताप्मादेनले तक्सङ्बा, खञ्जमा, मिसेक्पा र ताम्भुङ्ना, यी चार देवताहरूसँग मानिसले लडाइँ गरेको स्थान चिनाए । आफूसँग भएका मुन्धुमी सामग्रीहरू दिएर अमूल्य सहयोग पुर्याएका छन् । खोज र अनुसन्धानका लागि मेसो पत्ता लागेको छ । व्यक्तिगत रूपले फेरि पनि तमोर खोलाको दर्शन गर्दै मुरिङ्ला खिरिङ्ला तीर्थस्थल जाने मनसायमा पुगेको छु ।
राजनीतिक सहपाठीहरूसँग त कृतज्ञित छु नै, मुन्धुमसम्बन्धी सहयोग गर्नुहुने श्रद्धेय महानुभावहरूसँग त झन् यति कृतज्ञ छु कि जुन कुरा जिन्दगीको विस्मृतिमा कहिल्यै पर्ने छैन ।
०००
अभियानको समाप्तिसँगै पुनः समीक्षा बैठक ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा ३ वैशाखमा बस्यो । त्यहाँ पनि खगेन्द्र राई र म मात्र उपस्थित थियौँ । उहाँले समग्र समीक्षा गर्दै जिल्ला पार्टीलाई महत्त्वपूर्ण सुझाव पेस गर्नुभयो । मैले पनि पेस गरेँ । जसको सार यस्तो थियो:
‘सकारात्मक पक्ष, आधारभूत तहमा पार्टी कमजोर छैन । तुलनात्मक हिसाबले तल्ला कमिटीहरूका नेता/कार्यकर्ताहरू उत्साहित छन् । युवाहरूको उत्साहवर्द्धक उपस्थितिले पार्टीको भविष्य सुन्दर छ । पार्टीलाई विस्तार गर्ने आधारभूमि मलिलो छ । तत्काल सच्याउनुपर्ने नेतृत्व तहमा समझदारीको खाँचो छ । सम्भावना हुँदाहुँदै पनि दुवै तहको निर्वाचनमा असमझदारी र असहयोगले समस्या उब्जाएको देखिएको छ । त्यसले तल्ला कमिटीहरूमा निराशाको बिउ उमार्न सक्छ ।’
यो राजनीतिक पक्ष थियो । सांस्कृतिक दृष्टिले यो जिल्लाका अधिकांश क्षेत्रमा रहेका मुन्धुमीस्थलहरूलाई पर्यटनका लागि विकास गरेर खोज तथा अनुसन्धाताहरूका लागि सहज बनाउन जरुरी छ । किनकि यो क्षेत्र आफैँमा इम्बिरी सभ्यताको उद्गमस्थल हुन सक्छ । जुन कुरा हालसम्म अनुसन्धान नहुनाले बाहिर नआएको पनि त हुन सक्छ । यस्तैयस्तै, सुझाव एवं सल्लाह दिएर अभियानको दौडानमा जान अञ्जान गल्ती भए माफी पाऊँ भन्दै हामीले आफ्नो बाटो ततायौँ । यतिका समयपछि साथीहरूसँग छुट्दा मनमनै नमीठो महसुस भयो ।
सर्वथा ताप्लेजुङसँगै त्यहाँको तोङ्बा र सुकुटी पनि सदासदाका लागि छुट्दै थियो । त्यति मात्र कहाँ हो र ? पूर्वकै प्रमुख तीर्थस्थल पाथिभरा अनि ताप्लेजुङका मुख्य खोलाहरू मिक्वा, मैवा, कावेली र तमोर पनि सँगसँगै छुट्दै थिए । मुन्धुमीस्थलका मायावी पलहरू दीर्घकालका लागि छुट्दै थिए ।
लेखक एमाले केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री हुन् ।
प्रकाशित मिति: आइतबार, असार १७, २०८० १६:१९