कानलाई सफा राख्नका लागि भन्दै कानभित्रको कानेगुजी विभिन्न शैली अपनाएर निकाल्ने गरेको पाइन्छ । तर, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रिंयका गुप्ता कानमा समस्या नभएसम्म सफा गर्न आवश्यक नभएको बताउँछिन् ।
उनी भन्छिन्, ‘हामीले कानलाई सफा राख्नुपर्छ भन्ने कुरा एकदमै गलत हो । कानको जुन फोहोर हुन्छ, त्यो आफैँ सफा हुन्छ । कानलाई हामीले सफा गरिराख्नै पर्दैन । र, कानको फोहोर निकालिरहनु पनि पर्दैन ।’
उनका अनुसार कानको सरसफाइलाई लिएर धेरै भ्रमहरू छन् । मिथकहरू छन् । धेरैजसो अभिभावकहरू बच्चाको कान सफा गर्नुपर्छ भन्ने धारणा राख्छन् । उनीहरू कान सफा गरिदिनका लागि अस्पतालसम्म पुग्ने गर्छन् ।
‘धेरै जना अभिभावकहरू बच्चा लिएर आउनुहुन्छ । उहाँहरू मेरो बच्चाले कान सफा गर्न दिएन । सफा गर्दिनुपर्यो भन्नुहुन्छ । तर, यसको जरुरी हुँदैन’, उनले भनिन् ।
समस्या नभएसम्म सफा गर्नु पर्दैन
डा. गुप्ताका अनुसार कसैको पनि कानमा समस्या नभएसम्म सफा गरिराख्नु पर्दैन । कान चिलाउने, कान दुख्ने, कान कम सुन्ने, कानमा केही अड्केको जस्तो हुनेजस्ता समस्या देखिएमा कानमा भएको फोहोरले समस्या दिएको हुन सक्छ ।
उनी भन्छिन्, ‘लामो समयसम्म यस्ता समस्या देखिएमा चिकित्सकलाई देखाउनुपर्छ । चिकित्सकले हेरेपछि मात्र कानमा औषधि हालेर फोहोर पखालेर सफा गर्ने कि वा अरु नै केही गर्ने भन्ने थाहा हुन्छ । नभए कानलाई सफा राख्नुपर्छ भन्ने एकदमै भ्रम हो ।’
डा. गुप्ताका अनुसार स्वस्थ कानले फोहोर आफैँ सफा गर्छ । कान सफा गर्ने कानको आफ्नै प्रक्रिया हुन्छ । जसका कारण कानलाई सफा गरिराख्नै पर्दैन ।
त्यस्तै, सामान्यतया कान चिलाउँदा वा कान सफा गर्नका लागि ‘इयरबर्ड्स’ प्रयोग गर्ने गरेको पाइन्छ । यसरी इयरबर्ड्सको प्रयोग अभ्यास एकदमै गलत भएको बताउँछन्, डा. गुप्ता ।
‘कानमा इयरबर्ड्स प्रयोग गर्नुपर्ने आवश्यक्ता नै हुँदैन । कानको जुन प्वाल हुन्छ, त्यो गुफाजस्तै घुमाउरो हुन्छ । ‘एस’ जस्तो हुन्छ’, उनी भन्छिन्, ‘जसले गर्दा एयरबर्ड्स प्रयोग गर्दा कानको भित्तामा ठोक्किने डर हुन्छ । र, कानमा संक्रमण हुने, कानको भित्री भागमा समस्या हुने, कहिलेकाहीँ इयरबर्ड्स नै कानमा अड्किने समस्या हुन्छ ।’
डा. गुप्ताका अनुसार कानलाई सफा गर्नका लागि कुनै पनि कुरा प्रयोग गर्नु पर्दैन । कानको आफ्नै सफा गर्ने प्रक्रिया हुन्छ । 'कानलाई सफा गर्नुपर्छ । इयरबर्ड्स प्रयोग गर्नुपर्छ भन्ने कुरा व्यापक रूपमा फैलिएको छ । जुन सत्य होइन,' उनी भन्छिन्, ‘दिनभरिमा १ सय जना बिरामी हेर्यौँ भने ९९ जनामा कान सफा गर्नुपर्छ भन्ने भ्रम छ । इयरबड्स प्रयोग गरेर कति जना कानमा घाउ बनाएर आउनुहुन्छ । कति जनाको कानको जालीसम्म प्वाल पर्ने अवस्थामा अस्पताल आउनुहुन्छ ।’
कानेगुजी फोहोर हो ?
डा. गुप्ताका अनुसार कानेगुजी सफा गर्नुपर्छ भन्ने गलत अभ्यास भइरहेको पाइन्छ । कानेगुजीलाई मेडिकल भाषामा ‘वाक्स्’ भन्ने गरिन्छ । जुन कानले आफैँ उत्पादन गर्छ । यो कुनै फोहोर कुरा भने होइन ।
‘कानेगुजी कानका ‘ग्ल्यान्ड’हरूले आफैँ उत्पादन गर्ने कुरा हो । कानेगुजी आफैँमा नराम्रो होइन । कानेगुजी भएको कानमा कीराहरू पस्यो भने त्यसले सुरक्षाको काम गर्छ । र, कीरालाई भित्र जालीसम्म जान दिँदैन’, उनले भनिन् । त्यसैले कानेगुजीले समस्या नदिएसम्म त्यसलाई सफा गरिराख्न जरुरी नभएको उनी बताउँछिन् ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १९:००