भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्नहरू पछिल्लो समय धमाधम पक्राउ परिरहेका छन् । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पछिल्लो पाँच दिनयता गिरोहका चार जनालाई पक्राउ गरिसकेको छ ।
१३ चैतमा पहिलोपटक तीन जनालाई पक्राउ गरेको प्रहरीले त्यसको तीन दिनपछि १६ चैतमा थप एक जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले पहिलोपटक मोरङ पथरीका केशवप्रसाद दुलाल, ललितपुर महालक्ष्मी-४ का सानु भण्डारी र पाँचथर फिदिमका टंककुमार गुरुङलाई पक्राउ गरेको थियो ।
उनीहरूकै वयानका आधार प्रहरीले मोरङ पथरी-१० का सागर राईलाई समेत पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार हालसम्म उनीहरूले एक सय ५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर ठगी गरेको खुलेको छ ।
उनीहरूले प्रहरीमा आफूहरूबाट लाखौँ रकम असुलेर ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । ‘अहिलेसम्म एक सय ५ जनाको जाहेरी आएको छ । हामी अनुसन्धानकै क्रममा छौँ । पक्राउ परेकामाथि वयान लिने काम भइरहेको छ । उनीहरूले करोडौँ रकम असुल गरेको देखिएको छ,’ एसएसपी केसीले भने ।
रकम ठगेर उनीहरू सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा पुगेका हुन् । पक्राउ परेका दुलालसहितको समूहले सयौँ मान्छेबाट ५० करोडभन्दा बढी रकम ठगी गरेको आशंका प्रहरीको छ । यसरी नक्कली शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाउने गिरोहका केही अझै फरार छन् ।
प्रहरी स्रोतका अनुसार यसरी गिरोह सक्रिय बनाउने मुख्य भूमिकामा मोरङ पथरीका केशवप्रसाद दुलाल भएको खुलेको छ । त्यस्तै, उनीबाहेक रकम असुली गिरोहका अर्का मूख्य भूमिका दाङका सन्देश पोखरेल शर्मासमेत छन् । तर, सन्देशलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
वयानमा असहयोग
प्रहरीले पक्राउ गरेका चार जनामाथिको वयान तीव्र पारेको छ । उनीहरूले नेपालीलाई भुटानी शरणार्थीका नाममा ठगी गरेको स्वीकार गरे पनि प्रहरीको वयानमा असहयोग गरिरहेका छन् । भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधान पहिल्याउन सरकारी कार्यदलले तयार पारेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची घुसाउँदै उनीहरूले ठगीको काम गरेका थिए ।
तर, गृह मन्त्रालयबाट उक्त गोप्य प्रतिवेदन कसरी प्राप्त गरे भन्नेबारेमा भने उनीहरू मौन बसेका छन् । प्रहरी स्रोतका अनुसार गृह मन्त्रालयकै उपल्लो तहका कर्मचारीको संलग्नता विना उनीहरूले उक्त प्रतिवेदन प्राप्त गर्न कठिन हुने बताउँछन् । उक्त प्रतिवेदन गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गठित समितिले बनाएको थियो ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘यो ठगी प्रकरणमा गिरोह नै सक्रिय देखिन्छन् । केही राजनीतिक दलका नेतादेखि गृहकै कर्मचारीको मिलेमतोको आशंका छ । तर, पक्राउ परेकाहरूले वयान दिन अस्वीकार गर्दै आएका छन् ।’
वयानमा असहयोग गरेपछि उनीहरूमाथि पोलिग्राफ टेष्ट गर्नेदेखि मोबाइल फोन प्रहरी प्रधान कार्यालयमा राखिएको डिजिटल फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाउने तयारी प्रहरीको छ ।
आरोपीको कनेक्सन गृहका कर्मचारीदेखि नेतासम्म
भुटानी शरणार्थीका नाममा परिचयपत्र बनाएर ठगी गर्ने गिरोहको कनेक्सन गृह मन्त्रायलका कर्मचारी, सचिवदेखि गृहमन्त्रीसम्म देखिएको छ । प्रहरी स्रोतका अनुसार पूर्वगृहमन्त्री रामबहादुर थापाको सचिवालयमा काम गरेका व्यक्तिदेखि त्यो बेलाका गृहसचिवसम्मै उनीहरूले पहुँच पुर्याएको देखिएको छ ।
त्यस्तै, हाल फरार रहेका दाङका सन्देश पोखरेलको सम्पर्कसमेत उनीहरूसँगै रहेको देखिएको छ । उनीहरूले प्रतिव्यक्ति १० देखि ५० लाखसम्म रकम असुल गरेर ठगी गरेको खुलेको छ । यसरी ठगी गरेको रकमले फरार रहेका शर्मा, टंककुमार गुरुङ र केशव दुलालले ललितपुरको धापाखेलमा घरघडेरी जोडेका थिए । शर्माले हात्तीवनमा घर किनेका छन् भने गुरुङ र दुलालको घर निर्माणाधीन छ ।
शर्मा र गुरुङले झम्सीखेलको एक रेस्टुरेन्टमा समेत लगानी गरेको शर्मानिकट स्रोतको दाबी छ । उनीहरूले कहिले छुट दर्तामा नाम हाल्ने, कहिले फोटो खिच्ने र कहिले मेडिकल गर्ने भन्दै किस्ता-किस्तामा पीडितबाट रकम उठाएको खुलेको छ ।
उनीहरूले कास्की, चितवन, दाङ र सल्यानका अधिकांश युवायुवतीलाई ठगेको खुलेको छ । पूर्वी नेपालमा रहेका शिविरका झण्डै १ लाख १५ हजार भुटानी शरणार्थी तेस्रो देशमा बसोबासका लागि गइसकेपछि ‘दिगो समाधान खोज्न’ भन्दै गृह मन्त्रालयले विभिन्न कार्यदल, समिति र अध्ययन टोली बनाउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १३:३४