प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका पाँच जना प्रहरी अधिकारी ८ चैतमा दर्ज्यानी चिह्न लगाएलगत्तै प्रहरी प्रमुखका लागि लबिङ सुरु गरेका छन् । दुई दिनअघि सरकारले डीआईजीहरू वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको थियो ।
गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिले २६ फागुनमा उनीहरूलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । सिफारिसमा परेका पाँचै जनालाई मन्त्रिपरिषद् बैठकले एआईजीमा बढुवा गरेको थियो । बुधबार एआईजीको फूली लगाएकामध्ये एक जना तीन दिनपछि प्रहरी संगठनको सर्वोच्च कमाण्डर प्रहरी महानिरीक्षक (आईजीपी) हुनेछन् ।
हालका आईजीपी धीरजप्रताप सिंह प्रहरी नियमावली, २०७१ मा रहेको ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जानेछन् । नियमावलीको नियम १२७ (घ) मा प्रहरीको अधिकतम सेवा अवधि ३० वर्ष रहने प्रावधान छ । सो अनुसार आईजीपी सिंहको सेवा अवधि ११ चैतसम्म हुनेछ । उनी ११ चैत २०४९ सालमा इन्स्पेक्टरबाट प्रहरी सेवामा भर्ना भएका थिए ।
सिंहलाई प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा हदलाई संशोधन गर्ने सरकारी गृहकार्यकाे झिनाे आश भने छँदैछ । तर, अहिलेकै आईजीपी सिंहका पालामा ३० वर्षे सेवा हद संशोधन हुने सम्भावना न्यून छ । यस्तो अवस्थामा हाल बढुवा भएका एआईजीहरूमध्येबाट एक जना आईजीपी बन्नेछन् ।
एआईजी बुढुवाको वरीयताको पहिलो नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर, दोस्रोमा टेकप्रसाद राई र क्रमशः दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । बढुवाको वरीयतामा जो अगाडि भए पनि सरकारलाई उपयुक्त लागेका व्याक्ति आईजीपी हुनेछन् ।
प्रहरी नियमावली, २०७१ को नियम ४१ ले ज्येष्ठता, कार्य कुशलता, कार्य क्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामर्थ्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भनिएको छ ।
सर्वोच्चको पछिल्लो फैसलाले यी पाँच एआईजीमध्ये सरकारले विश्वास गरेकाे जाे पनि आईजीपी बन्न सक्ने व्याख्या गरेकाले काे नियुक्त हुन्छ अहिल्यै भन्ने सक्ने स्थिति भने छैन । हालका आईजीपी सिंहविरुद्ध उनकै ब्याची एआईजी विश्वराज पोखरेलले आफूभन्दा १७ महिना जुनियर र आफैँले फूली लगाइदिएका व्याक्तिलाई आईजीपी नियुक्ति गरिएकाे भन्दै आफू वरीयतामा सिनियर रहेको आधारमा आईजीपी हुनुपर्ने माग राखेर सर्वोच्च पुगेका थिए । पोखरेलको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आईजीपी बढुवा गर्ने अधिकार सरकारको रहेको ठहर गर्दै सिंहकाे नियुक्ति सदर गरेकाे थियाे ।
सरकारले एआईजीमध्येबाट आईजीपी बढुवा गर्दा उपयुक्त पात्रलाई नियुक्त गर्न सक्ने सर्वोच्चकाे साेही व्याख्याले अहिले प्रतिस्पर्धामा रहेकामध्ये जाे पनि आईजीपी हुनसक्ने बाटाे खाेलेकाे छ ।
यस्तो छ प्रतिस्पर्धीकाे ट्र्याक रेकर्ड
आईजीपीको प्रतिस्पर्धामा रहेका पाँच जनामध्ये चार जना ५ चैत २०५१ मा एकसाथ प्रहरी निरीक्षकमा भर्ना भएका अधिकारी छन् । एआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य एकसाथ प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
तर, अर्का प्रतिस्पर्धी एआईजी दीपक थापा भने उनीहरूभन्दा ६ महिनापछि २०५२ भदौमा सेवा प्रवेश गरेका हुन् । उनीहरू यसअघि सँगै ८ असारमा एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । त्यस्तै, फागुन २०७५ मा एसएसपी, फागुन २०७१ मा एसपी र भदाै २०६३ मा डीएसपीमा एकसाथ बढुवा भएका थिए ।
डीआईजीमा बढुवा हुँदासम्म भने केही अघिपछि भए पनि उनीहरूकै ब्याची १७ जना पुगेका थिए । तर, एआईजी बढुवामा भने अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरू पाँच जना आईजीपीको प्रतिस्पर्धामा पुगेका हुन् ।
एक नम्बरमा तर राष्ट्रसंघीय भेटिङमा परेका बसन्त
एआईजी बढुवा हुँदा एक नम्बरमा रहेका वसन्तबहादुर कुवँर डीआईजी बढुवासमेत पहिलो नम्बरमै थिए । ९ महिना डीआईजीको अनुभव गरेका कुँवरसँग मधेस प्रदेश प्रहरी प्रमुख र प्रहरीको प्रधान कार्यालयको कार्य विभागको कमाण्ड सम्हालेको अनुभव छ ।

एसएसपी हुँदा कुँवरले प्रहरीको केन्द्रीय प्रवक्ताको भूमिका र प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्डसमेत सम्हालेका छन् । त्यस्तै, एसपीमा नुवाकोट र चितवन जिल्ला प्रमुखका रूपमा काम गरेका थिए । डीएसपी हुँदा मनाङ, गोरखा र धादिङ जिल्लाको कमण्ड सम्हालेको अनुभव उनीसँग छ ।
विभिन्न पुरस्कारबाट सम्मानित कुँवरमाथि द्वन्द्वकालमा मानव अधिकार उल्लंघन गरेको रिपाेर्टका आधार संयुक्त राष्ट्रसंघकाे उच्चायुक्तकाे कार्यालयले विदेश भ्रमणमा रोक लगाएको थियो । राष्ट्र संघीय भेटिङमा परेका भए पनि संगठनभित्र भने उनी व्यवसायिक प्रहरी अधिकारीका रूपमा चिनिन्छन् ।
कमजाेर कमाण्ड तर विवादरहित र अनुसन्धानमा पाेख्त राई
एआईजी बढुवाको दोस्रो वरीयतामा रहेका टेकप्रसाद राईसँग लामो समय प्रहरीको विशेष ब्युरोमा बसेर काम गरेको अनुभव छ । उनले प्रहरी निरीक्षकदेखि एसपी हुँदासम्म करिब २० वर्ष विशेष ब्युरोमा बिताएका थिए ।
आतंकबाद र संगठित अपराधबारेको अनुसन्धानमा उनी पोख्त मानिन्छन् । डीआईजी हुँदा राईले प्रहरी प्रवक्ता र लुम्बिनी प्रदेश प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए ।

त्यस्तै, एसएसपी हुँदा राईले ललितपुर प्रहरी परिसर प्रमुख र मानव बेचविखन नियन्त्रण ब्युरो प्रमुख भएर काम गरेका थिए । एसपी हुँदा उनले जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेका थिए । बाँके प्रहरी प्रमुख हुँदा राई उत्कृष्ट एसपीका रूपमा पुरस्कृत भएका थिए ।
पत्रकारितामा समेत स्नातकाेत्तर गरेर एमफिल गरिरहेका राई आईजीपीका बलिया प्रतिस्पर्धी हुन् । उनी विवादरहित प्रहरी अधिकारी रहे पनि कमाण्ड कन्ट्रोलमा भने कम अनुभव छ । आतंकवाद नियन्त्रणबारे विभिन्न अन्तर्राष्ट्रिय तालिम लिएका राईसँग अमेरिकामा एफबीआई तालिम गरेको अनुभव छ ।
उनी संगठनभित्र आर्थिक रूपमा पारदर्शी र व्यवसायिक अधिकारीका रूपमा चिनिन्छन् । राई एफपीयु सिसन सुडानमासमेत सहभागी भएका छन् ।
अघिल्लाे ब्याचलाई भेटाएका बलियाे प्रतिस्पर्धी तर चुनावी सुरक्षामा विवादित थापा
अरु प्रतिस्पर्धीभन्दा ६ महिना ढिलाे प्रहरी सेवा सुरु गरेर पनि अघिल्लाे ब्याचलाई भेटाएका दीपक थापा तेस्रो वरीयताका एआईजी हुन् । उनी पनि आईजीपीका बलिया प्रतिस्पर्धी मानिन्छन् । उनीसँग डीआईजी हुँदा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख, एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख, एसपी हुँदा चितवन जिल्ला प्रमुख रहेर काम गरेको अनुभव छ ।

उनीमाथि २०७४ को स्थानीय चुनाव चितवनको सुरक्षामा कमजोरी गरेको आरोप लाग्दै आएको छ । भरतपुर महानगरकाे मतगणनामा चुनाव हार्ने स्थिति आएपछि माओवादी कार्यकर्ताले मतपत्र च्यातेका थिए । एउटा वडामा पुनः निर्वाचन गराएर भए पनि सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहालले चुनाव जितेकाे आराेप अर्का उम्मेदवार देवी ज्ञवालीले लगाएका थिए । सुरक्षा कमजाेर पारेर प्रहरी प्रमुख थापाले सघाएकाे आराेप लागेकाे थियाे ।
बलियाे कमाण्ड तर राष्ट्रसंघीय भेटिङ र नागरिकता विवादमा परेका ज्ञवाली
एआईजी बढुवाको चौथो नम्बरमा रहेका श्यामलाल ज्ञवाली पनि आईजीपीका उत्तिकै बलिया प्रतिस्पर्धी हुन् । उनीसँग डीआईजी हुँदा विमानस्थल प्रहरी प्रमुख, कोशी प्रहरी प्रमुखको कमाण्ड सम्हालेको अनुभव छ ।

त्यस्तै, एसएसपी हुँदा काठमाडौं प्रहरी प्रमुख प्रदेश प्रहरी कार्यालय काभ्रेको कमाण्ड सम्हालेका थिए ।एसपी हुँदा रुपन्देही र सिराहा जिल्लाको प्रमुख रहेर काम गरेका ज्ञवालीले डीएसपी हुँदा जिल्ला प्रहरी प्युठान र प्रहरी वृत्त बौद्धको कमाण्ड ज्ञवालीले गरेका छन् ।
कोसोभो र स्टिमोर युएन मिसनमा खटिएर कामसमेत गरेको अनुवभव ज्ञवालीसँग छ । स्नातकाेत्तर गरेका ज्ञवालीसँग प्रहरीको विभिन्न युनिटमा रहँदा पुस्कारसमेत पाएका छन् । तर, पछिल्लो समय उनको नागरिकता र शैक्षिक प्रमाणपत्रमा देखिएको भिन्नाभिन्नै जन्ममितिका कारण विवादित बनेका छन् । त्यस्तै, उनी द्वन्द्वमा मानव अधिकारको उल्लंघन गरेको घटनामा संयुक्त राष्ट्रसंघकाे उच्चायुक्तकाे कार्यालयले विदेश भ्रमणमा राेक लगाएर भेटिङमा परेका अधिकारी हुन् ।
वरियतामा पाँचाैँ तर दक्षिण एसियाकै पहिलाे प्रहरी प्रमुख हुने माैका
आईजीपीका अर्का प्रतिस्पर्धी हुन्, एआईजी किरण बज्राचार्य । उनी नेपाल प्रहरीको इतिहासमै पहिलोपटक प्रतिस्पर्धामा पुग्ने एक मात्र महिला हुन् । एआईजीमा पाँच नम्बरमा बढुवा भएकी बज्राचार्य आईजीपी भए नेपालको मात्रै नभई दक्षिण एसियाकै पहिलो महिला प्रहरी प्रमुख बन्नेछिन् ।

इन्टरपाेलमा रहँदा उनले उत्कृष्ट कार्यसम्पादन गरेकी थिइन् । बज्राचार्यसँग डीआईजीमा बागमती प्रदेश प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय प्रमुखको काम गरेको अनुभव छ । त्यस्तै, एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुख, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालय उपत्यका प्रहरी कार्यालय रानीपोखरीको अप्रेसन कमाण्डर रहेर काम गरेको अनुभव उनीसँग छ ।
हक्की स्वभावकी बज्राचार्यसँग एसपी हुँदा मधेस प्रदेश ट्राफिक प्रमुख बारा पथलैया, प्रहरी प्रधान कार्यालयको इन्टरपोल विभाग, जिल्ला प्रहरी कार्यालय भक्तपुरको प्रमुख रहेर काम गरेको अनुभव छ ।
त्यस्तै, डीएसपी हुँदा प्रहरी वृत्त ठिमी, प्रहरी प्रधान कार्यालय बालबालिका तथा सेवा निर्देशनालय प्रमुख र प्रहरी निरीक्षक रहँदा पर्यटक प्रहरी काठमाडौंको प्रमुख भएर काम गरेको अनुभव उनीसँग छ । बज्राचार्यस राष्ट्रसंघीय तीनवटा मिसनमा सहभागी थिइन् । दर्जनौँ पुरस्कार प्राप्त गर्नुका साथै सरकारबाट ७ वटा पदक र विभुषणबाट सम्मानित पनि भएकी छिन् ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९ १६:५६