करिब १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरूमा नयाँ उमङ्ग छाएको छ । विद्यार्थी राजनीतिले नयाँ बाटो समाउँदै छ । लामो समयदेखि निष्क्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पुनः सक्रियताका साथ स्थापित हुने संकेत देखिएकाे छ । अहिलेका लागि याे सबैभन्दा सकारात्मक पाटो हो ।
शुक्रबार देशभरका क्याम्पसमा विद्यार्थी संघठन औपचारिक रूपमा दर्ता भएपछि क्याम्पसको माहौल पनि थप तातेकाे छ । चुनावी रौनक छाएको छ । तर, हामी विद्यार्थी राजनीति गरिरहेकाहरूले भुल्न नहुने अर्को पाटो पनि छ- त्यो हो, स्ववियु र सिङ्गो विद्यार्थी संगठनमाथि उठिरहेको औचित्यको प्रश्न ।
यसरी जतिजति विद्यार्थी संगठन वा स्ववियुमाथि प्रश्न उठ्दै जान्छ, उति नै हाम्रा लागि चुनौती थपिँदै जान्छ । तसर्थः समयमै सचेत भएर हामीले यस्ता प्रश्नको जवाफ दिन आवश्यक छ । बोलीले हाेइन, कामले स्ववियुको औचित्य पुष्टि गर्न आवश्यक छ ।
हामीजस्ता विद्यार्थी अगुवाले विद्यार्थीको मुद्दा बोलेर उनीहरूको मन जित्नुपर्छ । राजनीतिको पुरानो धङधङीबाट मुक्त भएर समयसापेक्ष आवाज उठाउनुपर्छ । राजनीति गर्ने शैली फेरिनुपर्छ । हिजो व्यवस्था परिवर्तनमा महत्त्वपूर्ण भूमिका निभाएको विद्यार्थी संगठनले अब अवस्था परिवर्तनका लागि बोल्नुपर्छ ।
एकातिर विश्व नै ‘डिजिटल इकोनोमी’मा अग्रसर छ । ऊर्जा बचाउने अभियानसहित विश्वभर हाइड्रोजनबाट ‘हाइड्रोजन अर्थतन्त्र’मा प्रवेश गराउने गरी काम भइरहेको छ । ‘च्याट जीपीटी’जस्ता ‘आर्टिफिसियल इन्टिलिजेन्स’ले प्रविधिको क्षेत्रमा तहल्का पिट्दैछन् । नेपालजस्तै विकासशील राष्ट्रहरू पनि ‘कार्बन क्रेडिट’ र ‘ग्रीन टुरिज्म’बाट कसरी फाइदा लिने भनेर काम गरिरहेका छन् । यसमा ती देशका विद्यार्थीहरूले नै अध्ययन-अनुसन्धान गरिरहेका छन् ।
तर, हाम्रो अवस्था भने दयनीय छ । गाउँबाट एसईई पास गरेर आएको विद्यार्थी सामान्य कम्प्युटरको ज्ञान लिन शहरका ‘इन्स्टिच्युट’ धाउन बाध्य छन् । प्लस टु पास गरेको विद्यार्थी देशभित्रै अध्ययन गर्न नचाहिरहेको अवस्था छ । पढाइसँगै उद्यमशीलता वा केही नयाँ अनुसन्धान गरौँ भनेर जोसिएका विद्यार्थीहरू सरकारी नीति र हाम्रो संरचनाकै कारण विरक्तिन बाध्य छन् । ती विद्यार्थीको ‘विरक्तिभाव’ अस्ट्रेलिया वा विदेशका भूगोलमा छताछुल्ल पोखिइरहेको स्पष्ट देखिन्छ । जसको समाधान खोज्न र यसबारे बोल्न अब ढिलो भइसकेको छ । र, त्यसका लागि क्याम्पस–क्याम्पसमा खबरदारी गर्ने स्ववियुको आवश्यकता छ ।
तर, अब विद्यार्थी आन्दोलनको स्वरूप भने फेरिनुपर्छ । विद्यार्थी नेताहरू सिर्जनशील बन्नुपर्छ । विद्यार्थी संगठन आफैँमा हरेक सत्ताको स्थायी प्रतिपक्ष हो भन्ने सत्यलाई नबिर्सी निरन्तर विद्यार्थीको मुद्दा उठाइरहनुपर्छ । जस्तो, उदाहरणका लागि हामीले विगतका नजिरलाई हेर्न सक्छौँ । ‘माउ पार्टी’हरू एकातिर उभिँदा सडकमा विद्यार्थी संगठनहरू अर्कैतिर बोलेका र पार्टीलाई नै सच्चिन दबाब दिएका इतिहासहरू सम्झनु आवश्यक छ ।
कुनै बेला स्ववियु भन्नासाथ परिवर्तनको संवाहकका रूपमा चिनिन्थ्यो । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीद्वय डम्मरबीर थापा र भक्तगोविन्द श्रेष्ठलाई तत्कालीन विश्वविद्यालय प्रमुख सूर्यबहादुर शाक्यले कारबाही गरेपछि आन्दोलित बनेका विद्यार्थीका कारण स्थापित भएको थियो, स्ववियु ।
स्ववियु स्थापनाका लागि पनि विद्यार्थीले सानो संघर्ष गर्नुपरेको थिएन । तत्कालीन समयमा दुई विद्यार्थीलाई आनावश्यक कारबाही गरेपछि विद्यार्थीहरूले ‘आफ्नो आवाज बोल्ने’ स्ववियु खोजेका थिए । विश्वविद्यालयको मनपरी नियन्त्रण गर्न विद्यार्थीको युनियन चाहिने भन्दै आन्दोलन चर्किएको थियो । तर, शासकहरूको नियत त्यस्तो थिएन । ‘मनपरीतन्त्र’लाई नै बढावा दिन हौसिएका शासकलाई त्यो विद्यार्थी आन्दोलन मनपरेन ।
यद्यपि, विद्यार्थी जोस सेलाएन । त्रिविलाई केन्द्र बनाएर देशभर विद्यार्थी आन्दोलन सल्कियो । जसको बलमा विद्यार्थीहरूको आवाजलाई विश्वविद्यालयसम्म पुर्याउने उद्देश्यसहित पहिलोपटक औपचारिक रूपमा स्ववियु स्थापना भयो । भलै पञ्चायती व्यवस्थामा उपत्यकाका हाईस्कुलमा विद्यार्थी युनियनको अभ्यास २०१९ सालअगाडिदेखि नै हुँदै आएको थियो ।
यसरी स्थापना भएको स्ववियु त्यसपछि पनि सहज ढंगले चल्न पाएन । २० भदौ २०२० मा मात्र विद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भएको थियो, जसमा प्रगतिशील पक्षले विजय हासिल गर्यो र निर्वाचित स्ववियुले तत्कालै विद्यार्थीको मुद्दा जोडतोडले उठाउन थाल्यो ।
पटकपटक राज्यको तारो बन्दै, लड्दै अघि बढेका विद्यार्थी संगठनहरूले २०४६ सालको आन्दोलनदेखि २०६२/०६३ सालको जनआन्दोलनसमेत सफल बनाए । फलस्वरूप अहिले हामीले कम्तीमा स्वतन्त्रताको स्वाद चाख्न पाएका छौँ ।
निर्वाचित स्ववियुको कार्यकारिणीको पहिलोपटक, २०२० साल फागुनमा बसेको बैठकले २०२० चैत ४ गते सम्पूर्ण कलेजको प्रतिनिधिसहितको बैठक आह्वान गरेपछि माहौल झन् तात्तियो । विद्यार्थी नेताहरूले उपत्यका अन्तरकलेज सम्मेलन आयोजक समिति गठन गरेर आफ्नो सक्रियता थप बढाए ।
विद्यार्थी आन्दोलनका लागि अर्को झिल्को बन्यो– त्रिचन्द्र कलेजमा २०२१ साल वैशाख २५ देखि २९ गतेसम्म आयोजना गरिएको सम्मेलन । विद्यार्थीले गरेको उक्त सम्मेलन पञ्चायती सरकारलाई पाच्य भएन । उसले दमनको शृंखला बढायो । विद्यार्थीहरूलाई गिरफतार गर्न थाल्यो । तर पनि विद्यार्थीहरू थाकेनन् । पक्राउ पर्न बाँकी रहेका अन्य सदस्यहरूले लुकीछिपी नै सम्मेलन सम्पन गरे । र, उक्त सम्मेलनले निष्क्रिय बनाइएको स्ववियु पुनः स्थापनासँगै गाडी भाडालगायतको छुट दिनुपर्ने मागसहित ५ प्रस्ताव पारित गर्यो ।
त्यसपछि पञ्चायत सरकार झन् उग्र बन्यो । घर र कोठाकोठामा पुगेर विद्यार्थी नेताहरूलाई पक्रन थाल्यो । हुँदाहुँदा सो सम्मेलनले पारित गरेको महत्त्वपूर्ण प्रस्ताव पनि जफत गरेको तथ्य अझै पढ्न पाइन्छ ।
आक्रोशित विद्यार्थीले आन्दोलन झन् चर्काए । जेठ १ गते विशाल मौन जुलुस गर्यो । त्यसमा पनि प्रहरीको निर्मम दमन भयो, कैयौँ घाइते भए । बदलास्वरूप विद्यार्थी संगठनले १५ दिन विश्वविद्यालय नै ठप्प बनाए । प्रहरी र विद्यार्थीबीच पटकपटक मुडभेड भयो । अन्ततः प्रहरीले उनीहरूलाई रिहाइ गर्न बाध्य भयो ।
यत्रो संघर्षपछि ‘खुल्न’ थालेका विद्यार्थीका लागि २०२८/०२९ सालपछि फेरि काला दिन सुरु भए । २०२८ सालमा पञ्चायत सरकारले शिक्षा नीति जारी मात्रै गरेन, त्योसँगै ‘स्ववियु र संघसंगठनहरूमाथि प्रतिबन्ध ऐन २०२९’ जारी गर्यो । यसले विद्यार्थी संगठनलाई झन् गाह्रो बनायो । यद्यपि, विद्यार्थीहरूले आन्दोलन चर्काउन छोडेनन् र २०३६ सालमा आएर यो संकट पनि टर्यो । प्रतिबन्ध फुकुवा भएपछि विद्यार्थीहरू पुनः क्याम्पसमा जुरमुराउन थाले ।
यसरी पटकपटक राज्यको तारो बन्दै, लड्दै अघि बढेका विद्यार्थी संगठनहरूले २०४६ सालको आन्दोलनदेखि २०६२/०६३ सालको जनआन्दोलनसमेत सफल बनाए । फलस्वरूप अहिले हामीले कम्तीमा स्वतन्त्रताको स्वाद चाख्न पाएका छौँ ।
यस्तै, विश्वका अन्य उदाहरण पनि छन् । जहाँ व्यवस्था परिवर्तनदेखि शैक्षिक रूपान्तरणका मुद्दामा विद्यार्थी संगठनहरूले महत्त्वपूर्ण भूमिका निभाएका छन् । अहिले पनि विश्वका ठूला विश्वविद्यालयमा विद्यार्थी संगठन अस्तित्वमा छन् । जस्तो, जेएनयू विद्यार्थी युनियनले भारतका ज्वलन्त राष्ट्रिय मुद्दा, सामाजिक—आर्थिक विषयमा घनीभूत बहस चलाएको पाइन्छ । विश्वचर्चित क्याम्ब्रिज विश्वविद्यालयमा सन् १९७१ मा क्याम्ब्रिज विद्यार्थी युनियन छ, जसले विद्यार्थीका लागि विद्यार्थीमैत्री सल्लाह–सुझाव, सूचना आदान–प्रदान र विद्यार्थीको दैनिक जीवनमा आइपर्ने समस्यामा सहयोग गर्छ ।
शैक्षिक रूपान्तरणको मुद्दा उठाएको चिलीको अर्को उदाहरण पनि हामीले हेर्न सक्छौँ । केही समयअगाडि ‘सार्वजनिक शिक्षा पाउनु सबैको विश्वव्यापी सामाजिक अधिकार हो’ भन्ने नाराका साथ चिलीको विद्यार्थी आन्दोलन विश्वचर्चित बन्यो । चिली विश्वविद्यालय विद्यार्थी संघकी अध्यक्ष क्यामिला भालेजोले नेतृत्व गरेको सन् २०११ को त्यो आन्दोलनल सन् १९९० पछि चिलियन शिक्षामा तीव्र निजीकरण भइरहेको विषय उठाएको थियो । त्यसबेला त्यहाँ ५४ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्न बाध्य थिए भने चिलीमा शिक्षा महँगो हुँदै गएको थियो । अन्ततः शिक्षा सार्वजनिकीकरणको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलनले विश्वचर्चा बटुल्दै सफलता प्राप्त गर्यो । हाम्रो देशमा पनि शिक्षामा तीव्र निजीकरण भइरहेको यो अवस्थामा चिलीको यो उदाहरण हाम्रा लागि शिक्षा हुन सक्छ ।
विश्वमा भइरहेको यस्ता काम र विद्यार्थी आन्दोलनबाट सिकेर हामीले पनि विद्यार्थीको आवाज झन् बुलन्द पार्न आवश्यक छ । समयसापेक्ष मुद्दामा केन्द्रित हुन जरुरी छ । यसका लागि १४ वर्षपछि पुनः ब्युँतिन लागेको स्वतन्त्र विद्यार्थी युनियन कोसेढुंगा बन्न सक्छ । सही काम गरे आफ्नो औचित्य पुष्टि गर्ने यो सही मौका पनि हो ।
(लेखक मगर पशुपति क्याम्पसका विद्यार्थी नेता हुन्)
प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९ १२:४७