चार खेलमा चार जित । महत्त्वपूर्ण आठ अंक । यो नेपाली क्रिकेटका लागि एकदमै ठूलो उपलब्धि हो । एक हारले समेत नेपालको आगामी यात्रा झनै कठिन बन्ने निश्चित थियो । तर, आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत घरेलु टिमले स्कटल्यान्ड र नामिबियालाई माथ खुवाउँदै पाएको यो सफलता साँच्चै तारिफयोग्य छ ।
टीयू क्रिकेट मैदानमा मंगलबार नेपाल चौथो जितको लक्ष्य लिएर मैदानमा उत्रिँदै थियो । पहिलो खेलमा नामिबियालाई दुई विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेटले हराएको थियो । तेस्रो खेलमा नामिबियालाई नै तीन विकेटले हराएको नेपाल चौथो जितको खोजीमा हुँदा स्कटल्यान्डबाट २१३ रनको मध्यम लक्ष्य पाएको थियो ।
तर, जवाफी ब्याटिङ थालेको नेपालले ६१ रन बनाउँदा महत्त्वपूर्ण पाँच विकेट गुमायो । यसपछि खेलाडीको मात्रै होइन, मैदानमै पुगेका करिब १३ हजार दर्शकको पनि मुटुमा ढ्याङ्ग्रो बज्न थाल्यो । तर, सातौँ नम्बरमा ब्याटिङ गर्न आएका दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले छैटौँ विकेटका लागि ४२ रनको साझेदारी गर्दै नेपाली टिमलाई उकास्ने कोसिस गरे । ज्ञानेन्द्र मल्ल २१, कुशल मल्ल १७, आशिफ शेख १२, सन्दीप लामिछाने ९, दीपेन्द्रसिंह ऐरी सात, सोमपाल कामी दुई, सन्दीप जोर र कुशल भुर्तेल समान १–१ रनमा आउट भए ।
नेपाली ब्याटर एकपछि अर्को स्कटल्यान्डका बलरको सिकार हुँदा क्रिजमा थिए कप्तान रोहितसँगै करण केसी । यी दुवै खेलाडीले ७५ रनको साझेदारी गरेपछि नेपालको जित सम्भव बन्यो । जितपछि कप्तान रोहित भन्छन्, ‘हाम्रो ५–६ विकेट जादा पनि सक्छुजस्तो लागेको थियो । त्यसपछि विकेट पनि गयो । तर, आठ विकेट गएपछि करण दाइ आउनुभयो । साझेदारी पनि राम्रो भयो । त्यसपछिचाहिँ जितिन्छ भन्ने विश्वास भयो ।’

कप्तान रोहित र करणले नेपालले हारिसकेको खेल जिताएका छन् । त्यसो त, टस जितेर फिल्डिङ रोजेको नेपालका लागि स्कटल्यान्डलाई मध्यम स्कोरमा समेट्नुको मुख्य श्रेय बलर सन्दीप लामिछानेलाई जान्छ । उनले उत्कृष्ट बलिङ गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।
सन्दीपले स्कटल्यान्डका जर्ज मन्जीलाई ६०, कायल कोएट्जरलाई २२, टोमस म्याकिनतोसलाई एक र कप्तान रिची बेरिङटनलाई शून्यमा आउट गरे । स्कटल्यान्डका मुख्य चार ब्याटरलाई आउट गरेका सन्दीपले १० ओभरमा ४५ रन खर्चिए । त्यस्तै, करण केसीले पनि बलिङ उत्कृष्ट प्रदर्शन गरे । उनले तीन विकेट लिए ।
आठ खेलमा पाँच जित आवश्यक
नेपालको लक्ष्य भनेको शीर्ष तीन मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनुभन्दा पनि शीर्ष पाँचमा पर्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई जोगाउनु हो ।
यो लक्ष्यअनुसार नेपालले अब लिग टुमा खेल्ने आठ खेलमध्ये पाँच खेलमा जित निकाल्नुपर्छ । अब दुईवटा सिरिजमा नेपालले पाँच खेल जिते शीर्ष पाँचमा स्थान बनाउनेछ ।
नेपालले अब पाँच खेल जित्दा ३६ अंक हुन्छ । अहिले चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।
त्यसो त, शीर्ष पाँच मात्र नभएर नेपालले बाँकी आठै खेल जिते विश्वकपको शीर्ष तीनमा पर्ने निश्चित बनेको छ । नामिबियाले स्कटल्यान्डसँग हारेसँगै नेपालको लागि त्यो बाटो खुलेको हो ।
सोमबार स्कटल्यान्डसँग नामिबिया ४३ रनले हारेसँगै नेपाललाई फाइदा पुगेको हो । नामिबियाले यूएईसँग फेब्रुअरी २३ र २५ मा दुबईमा लिग टुका आफ्नो बाँकी खेल खेल्दैछ । यूएईलाई दुवै खेलमा हराए नामिबियाको ४१ अंक हुनेछ । नामिबियालाई दुवै खेलमा हराउँदै यूएईले पपुवा न्युगिनीलाई पनि चार खेलमा पराजित गरे यूएईको ३९ अंक हुन्छ ।
नेपालले अब लिग टुको एउटा सिरिज यूएईमा खेल्दैछ । त्यो सिरिजमा नेपालले यूएईसँगै पपुवा न्युगिनीलाई हराउनैपर्ने हुन्छ । यही टिमसँग नेपालले अन्तिम सिरिज नेपालमा खेल्दैछ । त्यो सिरिजमा पनि नेपालले सबै खेलमा जित निकाले शीर्ष तीनमा पर्नेछ ।
नेपालले आफ्नो सबै खेल जिते ४२ अंक हुन्छ । यसरी पनि शीर्ष तीनमा पर्दै नेपाल विश्वकप छनोटमा सिधै पुग्न सक्छ ।
नेपालका लागि अबका बाँकी खेल फाइनलसरह रहेको कप्तान रोहितकुमार पौडेल बताउँछन् । उनी भन्छन्, ‘हाम्रा लागि सबै खेल फाइनल सरह नै हुनेछन् । दुबईमा गएर पनि राम्रो खेल्नुपर्नेछ ।’
यस्तो छ अंक तालिका
३६ खेल खेलिसकेको स्कटल्यान्ड लिगु टुको च्याम्पियन बनिसकेको छ । नेपालसँग हारे पनि स्कटल्यान्डले टीयू क्रिकेट मैदानमै लिग टुको ट्रफी पाइसकेको छ ।
स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोड्न पुग्यो । योसँगै स्कटल्यान्ड विश्वकप छनोटमा पुगेको छ । दोस्रो स्थानमा रहेको ओमानको पनि कुल ३६ खेलबाट ४४ अंक छ । ओमान पनि विश्वकप छनोटमा पुगेको छ ।
तेस्रो स्थानमा को पर्ने भनेर अब तीन राष्ट्रको लडाइँ हुनेछन् । जसमा नेपाल, यूएई र नामिबिया छन् ।

अहिले तेस्रो स्थानमा रहेको नामिबियाको ३४ खेलबाट ३७ अंक छ । चौथो स्थानमा रहेको अमेरिकाको कुल ३६ खेलबाट ३५ अंक छ । यता, पाँचौँ स्थानमा रहेको यूएईको २६ खेलबाट २७ अंक छ । छैटौँ स्थानमा रहेको नेपालको २८ खेलबाट २६ अंक छ । लिग टुको पुछारमा रहेको पपुवा न्युगिनीको २८ खेलबाट पाँच अंक मात्र छ । पपुवा न्युगिनी शीर्ष पाँचभित्र पर्ने दौडबाट बाहिरिसकेको छ ।



प्रकाशित मिति: मंगलबार, फागुन ९, २०७९ १९:५९