(मुलुक संघीयतामा गएको पाँच वर्ष पुग्दा–नपुग्दै प्रदेश संरचनामाथि प्रश्न उठ्न थालेको छ । तीन तहका सरकारमध्ये प्रदेशले अपेक्षाकृत भूमिका निर्वाह गर्न नसक्दा आर्थिक भार मात्र बढाएको भन्दै आलोचना सुरु भएको छ । कार्यान्वयनमा गएको पाँचै वर्षमा कुनै संरचना असफल भयो भन्न मिल्दैन । बरु, त्यसमाथि वैचारिक मन्थन गर्न जरुरी छ भन्ने ठानेर शिलापत्र डटकमले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा प्रदेशकेन्द्रित विशेष सामग्री प्रस्तुत गरेको छ । –सम्पादक)
***
सुदूरपश्चिम प्रदेशका संस्थापक मुख्यमन्त्री हुन्, त्रिलोचन भट्ट । भट्टलाई मुख्यमन्त्रीका रूपमा पाँचै वर्ष सरकार चलाउने मौका मिल्यो । अन्य प्रदेशमा सरकार परिवर्तन भए पनि सुदूरपश्चिमसँगै मधेस प्रदेशमा भने सरकार पाँच वर्ष नै परिवर्तन भएन । स्थिर सरकार हुँदा कानुन निर्माण, भौतिक संरचना, जनताका समस्या बुझेर योजना बनाउने, कार्यान्वयन गर्ने कुरालाई व्यवस्थित ढंगले अगाडि बढाउन कत्तिको सहज वा असहज भयो ? भन्नेबारे निवर्तमानमुख्यमन्त्री भट्टसँग शिलापत्रका लागि सुनिता बिकले गरेको कुराकानी:
पाँच वर्षमा तपाईं नेतृत्वको सरकारले गरेका मुख्य उपलब्धि के-के हुन् ?
नेपालमा संघीयता आइसकेपछिको यो पहिलो प्रदेश सरकार थियो । कानुनी अप्ठ्याराहरू, जनशक्तिको अभाव, भौतिक संरचनाको अभाव, कानुनी अभाव र अनुभवका अभावलाई मध्यनजर गर्दै हामीले आफ्नै काम अगाडि बढायौँ ।
हामीले कृषिलाई प्राथमिकता राख्यौँ । आज कृषि तथा मुख्यमन्त्री एकीकृत कार्यक्रम प्रदेशभर सञ्चालनमा छ । २–३ वर्षदेखि ८८ वटै स्थानीय तहमा कार्यक्रम सञ्चालनमा छ । त्यसपछि हामीले भौतिक निर्माणतर्फ ध्यान दियौँ । खास गरेर सडक निर्माणमा बढी महत्त्व दियौँ । सुदूरपश्चिमको हकमा धेरै पहाडी जिल्लाहरूमा ग्रामीण सडकहरूलाई कालोपत्रे गर्ने काम र ५ देखि ७ सय किलोमिटर पक्की सडकहरू निर्माण गरेका छौँ । ऊर्जाको क्षेत्रमा १० देखि १५ मेगावाट विद्युत् आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको छ ।
योसँगै विगतमा हाम्रो प्रदेशमा सबैभन्दा कमजोर रहेको स्वास्थ्य क्षेत्र हो । आज हामीले प्रादेशिक अस्पतालहरूमा भौतिक संरचना र सँगसँगै जनशक्तिको व्यवस्थापन सबै जिल्ला अस्पतालहरूमा जनशक्तिको व्यवस्थापन, भौतिक संरचनाको व्यवस्थापन गरेका छौँ । साथै, आधुनिक मेसिनहरू पनि व्यवस्थापन गरेका छौँ । योसँगै शिक्षा र पर्यटनतर्फ पनि काम गरेका छौँ । यी कामहरूबाट परिणाम पनि देखिँदैछन् ।
मुख्यमन्त्रीको शपथग्रहणपश्चात् तपाईंले पहिलो भाषणमै ‘अब सुदूरपश्चिमेलीहरू विदेश जानु पर्दैन’ भन्नुभएको थियो । तर, समस्या त उस्तै छ नि ?
विदेश जाने कुरालाई कसैले पनि पूरै रोक्न सक्दैन । तर, यसलाई कम गर्ने कुरा मात्र हो । रोजगारीका लागि कमभन्दा कम मानिसले बाहिर जानु परोस् भनेर मैलै सुरुवातदेखि अहिलेसम्म मिहिनेत पनि गरेको छु । ठूलो लगानीका कलकारखानाहरू हामीसँग नभएकाले हामीले स्थायी रोजगारी दिन नसके पनि कृषिमा हामीले युवाहरूलाई जोडेका छौँ । स्वरोजगारसँग युवाहरूलाई जोड्ने प्रयास गरेका छौँ । यस्तै, विकास निर्माणसँगै रोजगारी सिर्जना गर्ने कुरा छ र प्रदेश लोकसेवा आयोग गठन भइसकेपछि प्रदेशमा रहेको करिब ७-८ सय जनशक्तिको अभावलाई पूर्ति गर्ने काम पनि भएको छ । भारतमा जाने र अरु देशमा जाने कुरा पूर्ण रूपमा रोक्न सक्ने कुरा हुँदैन । यो रोक्न पनि सकिँदैन । तर, निरन्तर यहीँ कामको व्यवस्था गरी यही खान बस्न सक्ने वातावरण बनाउन लागिरहेका छौँ ।
भनेपछि पहिलो वाचा नै पूरा नभएको भनेर स्वीकार गर्नुहुन्छ ?
होइन, अब यसलाई पूरा नभएको भनेर म भन्दिनँ । किनभने ५ वर्षमा हामीले जेजे काम गर्यौँ, त्यो खास गरेर विकास निर्माणसँग रोजगारी, कृषिसँग रोजगारी, पर्यटनसँग रोजगारी र अन्य ठाउँमा रोजगारी जोड्ने कुरा त भयो नै तर सय प्रतिशत भारत जाने कुरालाई रोक्न सम्भव भएन भन्ने कुरा मात्र हो । तर पनि अधिकतम रूपमा बेरोजगारी रोक्ने प्रयास गरेका छौँ ।
बेरोजगारीको अन्त्य नै गर्नका लागि राष्ट्रिय गौरवका आयोजना सुदूरपश्चिम प्रदेशमा सञ्चालन गर्नुपर्ने हुन्छ । पश्चिम सेती आयोजनालाई सञ्चालन गर्न सक्यौँ भने हजारौँ मानिसलाई रोजगारी सिर्जना गर्न सकिन्छ । ठूला लगानीकर्तालाई भित्र्याउन सकियो भने त्यसमा रोजगारी सिर्जना हुन्छ । तर, यो कुरा प्रदेश सरकारले मात्रै गर्न सक्दैन, यसका संघीय सरकारले भूमिका खेल्नुपर्छ । प्रदेश सरकारले ८८ वटै पालिकामा परेको कृषिसम्बन्धी कार्यक्रमले पनि हजारौँ युवाहरू स्वरोजगार भएका छन् । ५ वर्षभित्रै सबै सम्भव हुन्छ भन्ने कुरा सम्भव छैन् । यो बिस्तारै हुने कुरा हो ।
कृषि क्षेत्रमा अनुदान दिने कुरा गर्नुभयो । त्यसमा पनि आफूनिकटले मात्रै अनुदान दिने गरेको खबर बाहिरियो नि ?
आरोप काम गर्नेलाई लाग्ने हो, कामै गरेन भने आरोप पनि आउँदैन । आरोप लगाउने कोही पूर्वाग्राही, कोही राजनीतिक तवरबाट फरक मत र विचारका कारण लाग्ने हो । कहीँ कतै, एक/दुई स्थानमा यस्ता समस्याहरू पनि भएको हुन सक्छ । यदि त्यस्तो भएको पाइएमा कारबाहीको दायरामा ल्याउँछौँ । सरकार सबैको साझा हुन्छ । त्यस कारण सरकारले ल्याएको विधि, प्रक्रिया, नियमहरूभित्र नै रहेर पाउनुपर्ने हुन्छ । विधि प्रक्रिया नै नपुगेर कसैले पाउँदैनन् ।
‘म गर्वका साथ भन्न सक्छु कि यो ५ वर्षको दौरानमा मुख्यमन्त्रीले गरेको निर्णयमा विवाद भएको होस् या त कुनै निर्णयले नागरिकलाई समस्या भएको होस्, त्यस्तो अहिलेसम्म आएको छैन । बरु ममाथि के कुरा उठ्न सक्छ भने मैले राज्यको स्रोतलाई दुरुपयोग गरेर फाइदा नपुर्याएका कारण कतिपय मान्छे मसँग रिसाएका छन् ।
विवाद भएन भन्नुभयो तर अन्तिम बजेटमा त्यत्रो विवाद भएर कैयौँ दिन सदन चल्न सकेन । एउटै मन्त्रालयले बजेटको एकतिहाइभन्दा बढी हाल्दा तैँ चुप मै चुपको स्थिति किन सिर्जना भयो ?
हामीले सबैभन्दा बुझ्नुपर्ने कुरा के हो भने भौतिक पूर्वाधार मन्त्रालय यस्तो मन्त्रालय हो, जसमा खानेपानी मन्त्रालय, सिँचाइ, शहरी विकास, सडक र ऊर्जा मन्त्रालय पनि त्यसैमा छ । केन्द्रमा यी ५ मन्त्रालय अलगअलग भए पनि प्रदेशमा भने एउटै मन्त्रालयले हेर्नुपर्ने हुँदा सबैभन्दा बढी बजेट त्यसमा जान्छ । भौतिक पूर्वाधार मन्त्रालय भनेको सबैभन्दा बढी जनतासँग जोडिएको मन्त्रालय भएकाले पनि बढी बजेट जानु स्वाभाविक हो ।
अनि पाँच वर्षमा प्रदेश राजधानीको काम किन अघि बढाउन नसक्नुभएको ?
काम गर्ने ठाउँ नै हामीले प्राप्त गरेनौँ, संघीय सरकारसँग जग्गा प्राप्तिको माग गर्यौँ तर संघीय सरकारले जग्गा दिन सकेन । संघीय सरकारले जग्गा उपलब्ध गराइदिएको भए प्रदेशलाई यहाँ राख है भन्ने अधिकार दिएको भए त्यहाँ काम सुरु हुन्थ्यो । अझै पनि हामी निरन्तर रूपमा त्यसमा लाग्छौँ नै । संघीय सरकारले भूगोल उपलब्ध गराउनेबित्तिकै काम अघि बढाउनेछौँ । हामीले सबैभन्दा अघि राजधानी घोषणा गर्यौँ तर त्यो पूरा भएन । त्यसको कारण हामी होइनौँ । जोसँग जग्गा छ, त्यसले उपलब्ध नगराएपछि यो काम रोकिएको हो ।
मुख्यमन्त्रीबाट निवर्तमान भएपछि तपाईंको राजनीतिक यात्रा कसरी अघि बढ्छ ?
निरन्तर राजनीतिक यात्रामै अझै यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अघि बढ्छु । निरन्तर जनताको बीचमा रहेर काम गर्छु । पाँच वर्ष जुन राज्यमा मुख्यमन्त्री भएर रहेँ, मैले के महसुस गरेको छु भने यहाँका जनतालाई छिटो छरिता सेवा दिन किन सकिएन ? के कारणले समस्या भयो ? त्यसका पछाडिका कारण के हुन सक्छन् ? यिनै कुराहरूलाई जनताका माझमा राखेर एउटा अभियानकै रूपमा अघि बढ्ने प्रण गरेको छु । साथै, पार्टीलाई अघि बढाउन र पार्टीको विकास गर्नका लागि पनि काम गर्नेछु ।
प्रकाशित मिति: आइतबार, माघ २९, २०७९ ०६:२४