सन्दीप लामिछानेले अमेरिकी दूतावासले आफ्नो भिसा आवेदन अस्वीकार गरेको भन्दै ट्वीट गर्दा धेरै मान्छे आश्चर्यचकित भए । सेप्टेम्बरमा वेस्ट इन्डिजमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न जाने तयारीमा रहेका सन्दीपसँग अन्तर्वार्ता लिएपछि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।
त्यसपछि सीपीएलको डिफेन्डिङ च्याम्पियन बार्बाडोस ट्राइडेन्ट्समा ७८ लाखभन्दा बढी रकममा आबद्ध सन्दीपले अमेरिकाले भिसा दिन अस्वीकार गरेको गुनासो ट्वीटमार्फत पोखेका थिए ।
उनले प्रधानमन्त्री कार्यालय, अमेरिकी राजदूतावास, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालय, हेल्लो सरकार र बार्बाडोस ट्राइडेन्ट्सलाई मेन्सन गर्दै ट्वीट गरेका थिए । बिहान १०ः४८ मा पहिलो ट्वीट गर्दै उनले सीपीएलमा सहभागी हुन अमेरिकी भिसाका लागि जाँदा भिसा अस्वीकार भएको उल्लेख गरेका थिए ।
नेपालको राष्ट्रिय खेलाडी भएपछि २०१६ देखि विश्वका विभिन्न लिगमा देशको प्रतिनिधित्व गरिसकेका कारण भिसा अस्वीकार हुँदा आफू आश्चर्यचकित भएको सन्दीपको ट्वीटमा उल्लेख थियो ।
‘सबै डकुमेन्ट पूरा हुँदा पनि भिसा अस्वीकार भयो, म निःशब्द छु । सीपीएलमा सहभागी भएर बार्बाडोस ट्राइडेन्ट्सका लागि खेल्न मलाई समस्या हुने भएको छ,’ सन्दीपले दोस्रो ट्वीटमा लेखेका थिए ।
तर, त्यसपछि दूतावासले उनलाई फेरि बोलायो र भिसा दियो । सबै डकुमेन्ट पुग्दा पनि केही असमझदारी र मिस कम्युनिकेसनका कारण बिहान भिसा रिजेक्ट भएको हुन सक्ने दूतावासले बताएको थियो । भिसा पाएपछि सन्दीपले फेरि ट्वीट गरे ।
भिसा पाएपछि सन्दीपले दूतावास, प्रधानमन्त्री कार्यालय, परराष्ट्रमन्त्री ज्ञवाली, हेल्लो सरकार, परराष्ट्र मन्त्रालय र बार्बाडोस ट्राइडेन्ट्सलाई मेन्सन गर्दै ट्वीट गरे, ‘अन्ततः सबै समस्या समाधान भए । सहयोग र सहकार्यका लागि अमेरिकी दूतावासलाई धन्यवाद । सबै शुभचिन्तक र समस्या समाधानमा साथ दिनुहुने सबैलाई हार्दिक धन्यवाद ।’
तर, वेस्ट इन्डिजमा क्रिकेट खेल्न जाने सन्दीपलाई किन चाहियो अमेरिकाको भिसा ?
नेपालबाट वेस्ट इन्डिजका विभिन्न सहर जान दुइटा हवाइमार्ग छन् । एउटाबाट जाँदा युके ट्रान्जिट पर्छ भने अर्कोबाट जाँदा अमेरिका । सन्दीपले अमेरिकाको बाटो रोजे । किनकि सीपीएल २०१९ को दोस्रो चरणका केही खेल अमेरिकाको फ्लोरिडामा गर्ने योजना छ । तर, त्यसको अन्तिम निर्णय भने भइसकेको छैन । अझै छलफलकै क्रममा छ ।
त्यसैले पछि सीपीएल खेल्न पनि अमेरिकाको भिसा चाहिने भएकाले सन्दीपले अहिल्यै अमेरिकाको भिसाका लागि आवेदन दिएको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले बताए । त्यसका अलावा वेस्ट इन्डिज आफैंमा एउटा देश होइन ।
टापुजस्ता विभिन्न देश र सहरको संयुक्त राज्य हो । सीपीएल हुने एउटा टापुबाट अर्कोमा जान पनि अमेरिका हुँदै जानुपर्ने हुन्छ । एउटा टापुबाट अमेरिकासम्म विमान चढेर त्यहाँबाट फेरि अर्को फ्लाइट लिएर मात्र खेल हुने टापुमा पुग्न सकिन्छ । त्यसका लागि पनि अमेरिकाको भिसाले सहज हुने शिवाकोटीको भनाइ छ ।
त्यस्तै, नेपाली क्रिकेट टिमले पनि अमेरिकामा त्रिकोणात्मक सिरिज खेल्दै छ । एक दिवसीय विश्वकप २०२३ को प्रारम्भिक छनोटका रूपमा हुने क्रिकेट वल्र्डकप लिग २ मा नेपालले अमेरिकामा गएर ओमान र अमेरिकासँग क्रिकोणात्मक प्रतियोगिता खेल्ने कार्यक्रम छ । सन्दीपले त्यसका लागि पनि अहिल्यै भिसा मागेका थिए ।
सुरुमा किन अस्वीकार भयो सन्दीपको भिसा ?
सन्दीपसँग सम्पूर्ण डकुमेन्ट हुँदा पनि सन्दीपको भिसा अस्वीकार भएको थियो । राजनीतिक तथा सामाजिक सञ्जाललगायतका दबाबपछि दूतावासले सन्दीपलाई भिसा ‘रिभ्यू’का लागि बोलायो र भिसा स्वीकृत गरेर पठायो । तर, दूतावाससँग सन्दीपको भिसा अस्वीकार गर्न प्रशस्त कारण थिए । यसकारण, उनले सुरुमा भिसा पाएनन् ।
वेस्ट इन्डिज जानका लागि अमेरिका फ्लाइट ट्रान्जिट मात्र हो । ट्रान्जिटका क्रममा कुनै पनि देशको विमानस्थलमा बस्न भिसा आवश्यक पर्दैन । भिसाबिनै एयरपोर्टमा बसेर आफ्नो उडानको प्रतीक्षा गर्न सकिन्छ । तर अमेरिकी विमानस्थलहरूले भने कतिपय अवस्थामा ट्रन्जिट भिसा पनि माग्ने गर्छन् । यस्ताे भिसालाइ ट्रान्जिट सी वन् भिसा भनिन्छ । तर सन्दीपले मागेकाे भिजिट भिसा हाे ।
विमानस्थलबाट बाहिर निस्कन मात्र भिजिट भिसा आवश्यक पर्ने हो । र, नेपालले क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्ने २०२१ को अगस्टमा हो । अहिले २०१९ को अगस्ट चलिरहेको छ त्यसैले सन्दीपले कम्तीमा दुई वर्षको ‘मल्टिपल इन्ट्री भिसा’का लागि आवेदन दिएका थिए ।
सन्दीपलाई तत्काल भिसा चाहिने सीपीएल दोस्रो चरणका फ्लोरिडामा हुन सक्ने खेलका लागि हो । तर, त्यसको निर्णय भइसकेको छैन । सबै खेल वेस्ट इन्डिजमै पनि हुन सक्छन् । वेस्ट इन्डिजका विभिन्न टापुबीच हवाई यात्रा गर्न पनि अमेरिका ट्रान्जिट मात्र पर्छ ।
फ्लोरिडामा खेल नभएको अवस्थामा सन्दीपले विमानस्थल नछाडी अमेरिकालाई ट्रान्जिट मात्र बनाएर वेस्ट इन्डिजका विभिन्न टापुमा यात्रा गर्न सम्भव हुन्छ । सन्दीप सीपीएल खेल्न गएकाे याे पहिलाे पटक पनि हाेइन। त्यसैले पनि दूतावासले अहिल्यै सन्दीपलाई भिसा दिन आवश्यक नरहेको निष्कर्ष निकालेको हुन सक्छ ।