इन्डोनेसियाको पर्यटकीय गन्तव्य बालीमा आयोजित वाटर कलर फेस्टिबल (जल रंग महोत्सव)मा नेपाली कलाकारले सहभागिता जनाएका छन् । गत साता भएको महोत्सवमा ४० देशका कलाकारसँग नेपाली कलाकारले आफ्ना अनुभव साट्ने अवसर पाए ।
पछिल्लो समय पर्यटन प्रवर्द्धनमा चित्रकारको महत्त्वपूर्ण भूमिका रहँदै आएको जलरङ समाजका अध्यक्ष एनबी गुरुङले बताए । बालीमा भएको महोत्सव त्यसलाई वस्तुगत गर्न सफल रहेको र अनुभवका आधारमा निकै उपलब्धिमूलक भएको उनले जानकारी दिए ।
नेपाली कलाकारले ऐतिहासिक स्थान, धरोहर, मठमन्दिर तथा मनोरम स्थानलाई आफ्नो क्यानभासमा उतारेका थिए । महोत्सवमा सहभागी नेपाली कलाकारले नेपाली कला र पर्यटनको प्रचार तथा प्रवर्द्धन गर्ने चित्रात्मक सामग्री पनि वितरण गरेका थिए ।
‘नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्धनका लागि तयार पारेको विभिन्न प्रचार सामग्री हामीले साथमै लिएर गएका थियौं, त्यो त्यहाँ वितरण गर्याैं । त्यसका साथै हामीले चित्रकलामार्फत नेपाली संस्कृतिलाई चिनाउने प्रयास पनि गर्याैं । नेपाल भ्रमण वर्ष नजिकिँदै गर्दा नेपालको पर्यटन प्रवर्द्धनका लागि हामीले महोत्सवको भरपुर उपयोग गर्याैं,’ गुरुङले बताए ।
‘मुस्ताङको झारकोट नेपालको सुन्दर पर्यटकीय गन्तव्यमा पर्छ । यहाँको दृश्यले अधिकांशको मन लोभ्याउँछ। त्यही दृश्यलाई मैले बालीमा क्यानभासमा उतारेको थिएँ । यसले नेपाली समाजको सौन्दर्यलाई विश्वसामु परिचित गरायो,’ गुरुङले थपे ।
सो चित्र उत्कृष्ट लागेर महोत्सवमा आएका फिलिपिनी कला पारखी सिसिल स्प्रितुले झन्डै नेपाली रुपैयाँ २४ हजार (स्थानीय २८ लाख) मा किने । त्यस्तै, अर्का कलाकार डीबी राईले बनाएको काठमाडौंस्थित असन इन्द्रचोकको सुन्दर चित्रकला सिहान फर्निडेले नेपाली ४२ हजार रुपैयाँमा खरिद गरेका थिए ।
नेपाली कला संस्कृति लिएर विदेश जाँदा नेपाली चित्रकारिताको बहुआयामिक विकास हुने अन्य कलाकार बताउँछन् । जलरङ महोत्सवमा नेपालको प्रतिनिधित्व गर्दै स्वतःस्फूर्त रुपमा सहभागी भएको नेपाली टोली कलामार्फत नेपाललाई विश्वसामु चिनाउन सफल भएको थियो ।
बालीमा स्थलगत रुपमै नेपाल झल्काउने चित्र बनाएर प्रदर्शनसमेत गरेका कलाकार विनोदकुमार गुप्ताले सो महोत्सवलाई विश्वका कलाकारबीच नेपालको पहिचान स्थापित गराउने अवसरका रुपमा प्रयोग गरेको बताए । नेपाली कलाकारले जुन ठाउँमा कार्यक्रम गरे पनि नेपाली कला र पर्यटनलाई प्रचारात्मक रूपमा जोडेर काम गर्ने गरेको गुप्ताको भनाइ छ ।
नेपाली कलाकार विभिन्न देशमा गएर चित्र बनाउँदा र विदेशी कलाकारहरु नेपालमा आएर काम गर्दा आपसमा संस्कृति आदानप्रदानसँगै कला पर्यटनको विकासमा सेतुको काम गर्ने कलाकारको दाबी छ ।
कला तथा संस्कृतिमा नेपाल कमजोर छैन । तर पनि यहाँका सहर अस्तव्यस्त देखिन्छन् । विश्वमा देशको छवि निर्धारण गर्न कलाले महत्त्वपूर्ण टेवा पुर्याउने बालीबाट सिक्न सकिने महोत्सवमा सहभागी कलाकारले बताएका छन् ।
महोत्सवमा एनबी गुरुङ, भीम श्रेष्ठ, डीबी राई, विपना महर्जन, विनोदकुमार गुप्ता, बाबु साइला, सुदीप आले, दीपेन्द्रमान नेपाली, केशवराज खनाललगायतका कलाकारले नेपालको प्रतिनिधित्व गरेका थिए ।