२०७४ को चुनावपछि पाँच वर्षमा तीन खेप मुख्यमन्त्री फेरेको प्रदेश १ मा चुनावी परिणाम आएसँगै सरकार निर्माणको जोडघटाउ सुरु भएको छ । र, यस्तो जोडघटाउमा मुख्य रूपमा दल र नेताहरूको आँखा भने मुख्यमन्त्रीमा पुगेको छ ।
नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसका नेताहरू आफ्नो भागमा प्रदेश १ को मुख्यमन्त्री पार्ने लबिङमा छन् । त्यसो किन पनि भने यो प्रदेशमा कुनै पनि दलले एकल बहुमत ल्याएका छैनन् । अर्कोतर्फ कांग्रेस, माओवादी केन्द्र र नेकपा एस मिल्दा पनि बहुमत पुग्दैन । अर्कोतर्फ एमालेले राप्रपालाई आफ्नो पक्षमा ल्याए पनि बहुमत पुर्याउन सक्दैन । जसका कारण प्रदेशमा सत्ता समीकरण रोचक बन्ने देखिएको छ ।
प्रदेशसभामा नेकपा पहिलो पार्टी बनेको एमालेले प्रत्यक्षतर्फ एमालेले २५ स्थानमा जितेको छ । त्यस्तै, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ९, नेकपा एसले ३ र राप्रपाले २ स्थानमा जित निकालेका छन् । समानुपातितर्फ एमालेले १५, कांग्रेसले १२, माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता समाजवादी पार्टी र नेकपा एसले १/१ सिट पाउने सम्भावना छ ।
प्रत्यक्ष र समानुपातिकतर्फ गरी एमालेले ४०, कांग्रेसले २९, माओवादी केन्द्रले १३, राप्रपाले ६, नेकपा एसले ४ र जसपाले १ सिट पाउने देखिन्छ । यो प्रदेशमा प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ गरी ९३ सदस्यीय प्रदेशसभा छ । सरकार बनाउन ४७ जना प्रदेशसभा सदस्य चाहिन्छ ।
कांग्रेस, माओवादी केन्द्र र नेकपा एस मिल्दा प्रदेशसभामा ४६ जना सांसद हुन्छन् । अर्थात् बहुमत नपुग्ने अवस्था छ । यता, जसपाका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको घोषणा गरेको अवस्थामा राप्रपाको समर्थन लिँदा पनि एमालेलाई सरकार निर्माणका लागि बहुमत पुग्दैन ।
मुख्यमन्त्रीको दौडमा चारै दल
कांग्रेसबाट मुख्यमन्त्रीका लागि केन्द्रीय सदस्य अमृत अर्याल, विराटनगर महानगरका पूर्वमेयर भीम पराजुली, प्रदेश–१ समितिका सभापति उद्धव थापा, हालका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मुख्यमन्त्री बन्ने दौडमा छन् ।
तर, कांग्रेसका यी नेताहरूको मुख्यमन्त्री धोको पूरा होला/नहोला त्यो भने केन्द्रमा बन्ने गठबन्धनले निर्धारण गर्ने देखिन्छ । कार्की पनि केन्द्रमा सरकार कसरी बन्छ ? त्यहीअनुसार प्रदेश सरकार बनाउन छलफल सुरु हुने बताउँछन् ।
नेकपा (एमाले) का पोलिटब्यूरो सदस्यसमेत रहेका हिक्मत कार्की मुख्यमन्त्रीका प्रबल दाबेदार हुन् । प्रदेश सरकार बनाउन आवश्यक छलफल सुरु भएको उनी बताउँछन् । एमाले पहिलो दल भएकाले एमालेकै नेतृत्वमा सरकार बन्ने उनको भनाइ छ ।
माओवादी केन्द्रले पनि प्रदेश १ को मुख्यमन्त्रीमा आफ्नो दाबी गरेको छ । माओवादी केन्द्रका नेता तथा अहिलेका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने दौडमा छन् । प्रदेश १ मा अब माओवादीले मुख्यमन्त्री पाउनुपर्ने उनको लबिङ छ ।
नेकपा एसले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी छाडेको छैन । अहिलेका मुख्यमन्त्री राजेन्द्र राई मुख्यमन्त्रीमा दोहोरिने ध्याउन्नमा छन् । तर, नेकपा एसले प्रदेशसभामा जम्मा ४ सिट मात्र पाउने अवस्था छ ।
प्रकाशित मिति: सोमबार, मंसिर १९, २०७९ १८:१९